सांसद दवाडीले सोधे–गोरखकाली रवर उद्योग र कागज कारखाना कहिले खुल्छ ?
पोखरा, असार ३ ।
गोखराका सांसद प्रकाशचन्द्र दवाडीले हाल बन्द रहेका गोरखकाली रवर उद्योग र भृकुटी कागज कारखाना खुलाउन सरकारले पहल नगरेको गुनासो गरे । नयाँ औद्योगिक क्षेत्र खोजिरहँदा पूराना र महत्वपूर्ण उद्योगहरु पुनः सञ्चालन गर्ने कार्यक्रम नल्याएकोप्रति उनको गुनासो छ । यसबाहेक उनले बजेटमाथी पनि सुझाव दिएका छन् । सांसद दवाडीले सदनमा गरेका सम्बोधन जस्ताको त्यस्तै,
‘पर्यटन विकास गुरुयोजना तयार गरी स्पष्ट कार्ययोजना सहित पर्यटन क्षेत्रको एकीकृत विकास गरिनेछ । गण्डकी प्रदेशलाई पर्यटन हव र पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गरिनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तब्यको रुपमा प्रदेशको छवी स्थापित गरिनेछ ।’
यो मेरो भनाई होईन । गण्डकी सरकारले नीति तथा कार्यक्रम प्रश्तुत गर्दा सबैभन्दा पहिलो प्राथमिकताको कार्यक्रम हो । यसकै आधारमा बजेट हेरें, न गुरुयोजनाका लागि पैसा छ । न पर्यटनको हव बनाउने पैसा भेटें नत पर्यटकीय राजधानीका लागि स्पष्ट पैसा छुट्याईएको छ ।
सरकार पर्यटनको नारा घोक्छ, बजेटले पर्यटन शब्द देख्नै चाहँदैन । तीन पटकसम्मको नीति कार्यक्रममा समेटएिको मनाङ, मुस्ताङ र उत्तरी गोर्खामा फिल्म सिटी बनाउने कार्यक्रममा तीनै पटकसम्म बजेट परेन । के नीति कार्यक्रम पाना भर्नका लागि मात्रै हो ? नीति कार्यक्रम अनुसार बजेट छुट्याउनुपर्छ कि पर्दैन ?
एकदुईवटा बजेटको शीर्षक म सम्मानित सदन समक्ष राख्न चाहान्छु–
तनहूँको डुम्रे भन्सार र बागलुङको बुर्तिवाङलाई आधुनिक शहर निर्माण गर्ने, तनहूँको शुक्लागण्डकी, भीमाद, लमजुङको मध्येनेपाल, स्याङजाको पुतलीबजार, पर्वतको फलेबास र कुश्मालाई उपशहर (स्याटलाईट सिटी) बनाउन ३ करोड छुट्याएछ । अनौठो लाग्यो, ३ करोडले ५० मिटरको पक्की पुल त बन्दैन, यति ठूलो सपना कसरी पूरा हुने रहेछ ? अघिल्लो बजेटले समेटेको गोरखाको पालुङटारलाई स्मार्ट सिटी बनाउने कार्यक्रम यसपाली नपारिएको हो कि छुटेको हो ? यसको जवाफ सम्मानित सदन समक्ष माग्छु ।
प्रदेशस्तरीय २ वटा औद्योगिक क्षेत्र स्थापना र पूर्वाधार विकासका लागि २ करोड रुपैयाँ छुट्याईएछ । सरकार यो रकम धेरै भएन र भन्या ? बरु अलिअलि घटाएर अरु क्षेत्रमा लगानी गरौं, कमसेकम केही कार्यक्रम पनि थपिन्छन् । २ करोडले कस्तो औद्योगिक क्षेत्र बनाउने हो ? एउटा सामान्य घर बनाउन पुग्दैन २ करोड, सरकार औद्योगिक क्षेत्र खोल्न कस्सिन्छ । एकताका गोरखाको च्याङलीमा पनि औद्योगिक क्षेत्र लैजाने कुरा सुनिएको थियो । बजेट पनि विनियोजन भएझैं लाग्छ । तर एकाएक गायव भयो त सरकार । कि मन्त्रालयभित्रै छ ? नयाँ औद्योगिक क्षेत्र खोज्दै हिडेको सरकारले बन्द भएका गोरखकाली रवर उद्योग र भृकुटी कागज कारखानाबारे के सोचेको छ ?
हामेस्टे, मोडल फार्म, मुख्यमन्त्री जलवायुमैत्री कृषि गाउँ कार्यक्रम, रोजगारीका लागि तालिम दिने कार्यक्रम यो सबै कार्यकर्ता केन्द्रित पैसा हुन् हामीलाई विगतले यही सिकाएको छ । प्राथमिकता एकातिर छ, बजेट अर्कोतिर छ । अझैपनि पोके र ढोके बजेट पस्किएर सरकार समृद्ध प्रदेशको सपना बुनिरहेको छ । सरकारलाई आफ्नै नीति कार्यक्रम एकपटक फर्किएर पढ्न आग्रह गर्दछु । हाम्रो गन्तब्य के हो ? र कता जाँदै छौं ?
नीति कार्यक्रम कागजबाट बाहिर निस्किन सकेन, बजेट त जनताको हुँनै सकेन । कार्यकर्तामुखी बजेट बाढेर समाजवादको नारा घोकाउन छोड्नुस् । हामीलाई थाहा छ, बजेटको आकार सानो छ । तर सानो बजेटको पनि ब्यवस्थापन सही हिसावले गर्न सके ठूला कार्यक्रमहरु सम्पन्न गर्न सक्छौं ।
भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न, यो सरकारको नारा हो । यो नारा अहिले सबै सरकारी कार्यालयमा फ्लेक्स बोर्ड बनाएर टाँसिएको छ । कार्यालयमा बोर्ड टाँगेर भ्रष्टाचार रोकिँदैन, सरकार । भ्रष्टाचार नियन्त्रण गर्ने ज्ञारेण्टी के छ ? संयन्त्र बनेको छ ? कार्यक्रम अनुसार बजेट भएन भने लक्ष्य पनि फगत नाराबाट बाहिर आउन सक्दैनन् । तसर्थ समग्रमा बजेट सुधारिएर आएको छ । यसका लागि धन्यवाद । तर धेरै कुरा छुटेका छन्, जुन छुट्नै नहुने थियो । त्यसलाई समेटियोस् । अधिकतम बजेट कार्यान्वयन होस् भन्ने शुभकामना दिन चाहान्छु । धन्यवाद ।