वनभोज गएको बस पल्टियो–२ जनाको मृत्यु, ९ जना गम्भीर
सुर्खेत, मंसिर १६ ।
वीरेन्द्रनगर नगरपालिका–१४ को कटकुवामा जनजागृति युवा क्लबको वनभोज खान गएको बस कपासेमा दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् भने तीमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा मृत्यु हुनेमा लेकवेशी नगरपालिका–८ कुइनेपानी बस्ने ४० वर्षीया जानकी दर्लामी र सोही स्थानमा बस्ने २२ वर्षीया देउमाया वनकाटी रहेका छन् ।
रिजर्भमा लिएको मध्यपश्चिमाञ्चल बस व्यवसायी समितिको भे१ख ८४९ नम्बरको बस वनभोजबाट फर्किने क्रममा वीरेन्द्रनगरस्थित कपासे नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । उनका अनुसार घाइतेको सुर्खेतको देउती अस्पताल, माया अस्पताल र प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गम्भीर घाइते हुनेमा लेकबेसी–८ का सागर दर्लामी, दिलबहादुर मन्दिर, लालबहादुर अण्डाकी, टोपबहादुर दर्लामी, वीरबहादुर सोमै, अर्चन भुषाल, वीरबहादुर सिजाली, मनिसरा भुसाल र रमा नेपाली रहेका छन् ।