वडामै ट्राफिक लाईट राखेर पोखरा महानगरलाई वडाध्यक्षकाे चुनौति

पोखरा, बैशाख १२ ।
पोखरा महानगरको १३ नम्बर वडाले भद्रकालीमा ट्राफिक लाईट जडान गरेको छ । मुख्य सडक र चोकहरुमा ट्राफिक लाईट नराखेका कारण सवारी जाम बढेको गुनासो आईरहेका बेला वडाध्यक्ष दर्शन लामाले भद्रकाली स्कुल आडमा लाईट राखेर उदाहरण प्रश्तुत गरेका हुन् ।

ट्राफिक लाइट महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । विद्यालयमा विद्यार्थीको उच्च चाप रहेको र उनीहरुलाई सुरक्षित तरिकाले सडकमा यात्रा गर्न सिकाउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको वडाध्यक्ष दर्शन लामाले बताए । विद्यालयमा माध्यामिक तहमा २७ सय र क्याम्पसतर्फ गरी ३२ सय विद्यार्थी छन् ।

ट्राफिक लाइट जडान गर्न १ लाख ६३ हजार रुपैयाँ खर्च भएको लामाको भनाई छ । ट्राफिक लाइट विद्यार्थीले वारपार गर्दा बटन थिचे रातो बत्ती बल्ने र उनीहरुले बाटो काटिसकेपछि निश्चित समयपछि आफैं बन्द हुनेछ ।

यसैबीच, सोही वडामा दृष्टीविहिनमैत्री बाटो पनि बनाएको छ । वडा कार्यालयदेखि भद्रकाली स्कुलसम्म ३ सय मिटर दृष्टिविहीनमैत्री बाटो बनाएको हो । ८ लाख ५५ हजार रुपैयाँ लगानीमा बनेको उक्त बाटोमा सर्वसाधारण र अपांगहरु पनि सजिलै हिँड्न सक्ने वडाध्यक्ष लामा बताउँछन् ।