रवीन्द्र अधिकारीको क्षेत्रमा बामदेवको चर्चा
पोखरा, साउन १८ ।
रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विगत ५ महिनादेखि जनप्रतिनिधि विहिन छ । गएको फागुनमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका अधिकारीको निधन भएपछि केही महिनाभित्रै रिक्त चुनावी क्षेत्रमा चुनाव हुँदैछ
सरकारको सिफारिसमा निर्वाचन आयोगले मंसिर १४ गते चुनाव गर्ने घोषणा समेत गरिसकेको छ । चुनावी घोषणासँगै अहिले यस क्षेत्रमा उम्मेद्वारको आकांक्षा देखाउन थालेका छन् । यद्यपी कसैले पनि मुख खोलेका छैनन् ।
रवीन्द्रको निधन भएपछि उनकै धर्मपत्नी विद्या भट्टराई यो क्षेत्रका लागि नेकपाबाट बलियो दावेदार हुन् । यद्यपी उने मुख खोलेकी छैनन् । केही समयअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा नेता बामदेव गौतमले विद्यालाई नै उम्मेदवार बनाउनुपर्ने बताएका थिए ।
गौतमले विज्ञप्ती नै लेखेर कास्कीबाट चुनाव नलड्ने घोषणा गरेका थिए । यद्यपी अहिले बामदेवलाई नै चुनावमा कास्कीबाट उठाउने आन्तरिक तयारी भैैरहेको बुझिएको छ । प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ग्रिन सिग्नल दिईसकेको नेकपा श्रोत बताउँछ ।
कास्कीका पूराना नेता सोमनाथ अधिकारी प्यासी पनि दावेदार हुन् । आन्तरिक रुपमा लविङ गरिरहेको बुझिन्छ । अहिले नेकपा कास्कीको इन्चार्ज बनेका राजकाजी गुरुङ करण पनि दावेदारको रुपमा अघि देखिएका छन् । यद्यपी उनी कास्की २(ख) बाट प्रदेशसभा चुनावमा पराजीत भएका थिए ।
श्रोतका अनुसार कास्की नेकपाका सहइन्चार्जहरु भीम कार्की, श्रीनाथ बराल, पूराना नेता तुलबहादुर गुरुङ लगायतले पनि आकांक्षा देखाएका छन् । रवीन्द्रकै बालसखा धनराज आचार्यले पनि दावी गरेका छन् । उनले विद्याले चुनाव नलडे आँफूले टिकट पाउनुपर्ने दावी गरेका थिए ।
श्रोतका अनुसार दर्जनभन्दा बढी उम्मेद्वार नेकपाभित्र देखिएका छन् । यद्यपी यो संख्या निर्वाचनको दिनसम्म अझै बढेर जाने बताईएको छ । कास्की सहित देशैभरीका रिक्त स्थानमा मंसिर १४ गते निर्वाचन हुने पक्का भएको छ ।