मानसिक रोगीलाई कुट्ने प्रहरीमाथि कारवाही हुने

काठमाण्डौं, असोज ५ ।
काठमाडौमा केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको छ । काठमाडौको नयाँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

घटनापछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा आएको उक्त भिडियो प्रहरी कार्यालयले संज्ञानमा लिएर संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारवाही सुरु गरिसकिएको जनाएको छ ।

गत सोमबार एक फेन्सी पसल अगाडि बसेका उनलाई स्थानीयले हटाउन खोज्दा पसले र मानसिक रोगीबीच विवाद भएको थियो । स्थानीयले उनलाई हटाउन खोज्दै गर्दा आइपुगेका एक प्रहरीले उल्टै ती व्यक्तिलाई लाठी र बुटले निर्घात कुटपीट गरेका थिए । भिडियो लेखक दिलनिशानी मगरले खिचेका थिए ।