बोल्न नसक्ने ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कारपछि ज्युँदै जलाइएको पुष्टि

जनकपुर, फागुन ७ ।
धनुषामा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । धनुषाकी ११ वर्षीया बालिका दुतिया रैसेलीको शव जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो ।

मिथिला नगरपालिका–३ हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया फागुन १ गते गाउँमै बिहेभोज खान गएकी थिइन् । उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो ।

उनी बोल्न नसक्ने प्रकृतिकी थिइन् । घटना शंकास्पद भन्दै प्रदेश २ प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको पाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा केही व्यक्ति पक्राउ परिसकेको उनीहरुलाई १–२ दिनमै सार्वजनिक गरिने प्रहरीले बताएको छ ।