बाराही मन्दिरको दर्शन गर्दा रमाए ह्विलचियर प्रयोगकर्ता

पोखरा, फागुन १७ ।
“समावेशितामा एकता” भन्ने नाराका साथ १२ औं अन्तराष्ट्रिय ह्विलचियर दिवस मार्च १ को सन्दर्भमा पोखराका ह्विलचियर प्रयोगकर्ताहरुले डुङ्गा सयर गर्दै बाराही मन्दिरको दर्शन गरेका छन् ।
स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले फेवाकिनार र बाराही मन्दिर जाने बाटोमा अपाङ्गमैत्री संरचनाको निमार्ण गरेपछि ह्विलचियर प्रयोगकर्ताले फेवाताल घुम्ने र मन्दिर दर्शन गर्ने अवसर पाएका हुन् ।
पोखरा गणेशटोलकी ४८ वर्षिय ह्विलचियर प्रयोगकर्ता रीना पालिखेले पहिलो पल्ट बाराही मन्दिरको दर्शन गर्न पाउँदा निकै आनन्द र शान्ति अनुभूति गरेको बताईन् । “म पोखरमा जन्मे हुर्के तर ह्विलचियर प्रयोग गर्नुपर्ने भएकाले फेवाताल डुङ्गा चढे पनि मन्दिरमानै आएर दर्शन गर्न पाएको थिइन ।” उनले भनिन्, “एकदुईचोटी तालतिरबाट नै दर्शन गरे अहिले अपाङ्गमैत्री बाटो बनेपछि भने आज प्रत्यक्ष यहि आएर दर्शन गर्ने अवसर मिल्यो ।”
पोखरा पस्याङ्की ह्विलचियर प्रयोगकर्ता ३५ वर्षिय गंगा गुरुङ पनि पहिलो पल्ट बाराही मन्दिरको दर्शन गर्न पाएको निकै खुशी भएको बताईन् । “म पहिलोपल्ट आएको आज निकै रमाइलो भएको छ । सबै जनाले दर्शन गर्न पायौ । कति राम्रो रहेछ ।”
स्वाबलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले बाराही मन्दिर आउने अपाङ्गमैत्री संरचना निर्माण गर्न निकै कसरत गर्नुपरेको बताए । “निकै लामो समयदेखि ¥याम्प निर्माणमा जुटेका थियौ । बल्ल त्यो पुरा भएको छ ।” उनले अष्ट्रेलियन दुतावासको सहयोगमा साढे ६ लाख आर्थिक सहयोगबाट फेवाकिनारमा आल्मुनियम र फलामको ¥याम्प र डुङ्गाबाट झरेर बाराही मन्दिर जाने ठाउँमा अपाङ्गमैत्री स्लोप राखेर ह्वियचियर लाने मिल्ने संरचनाको निर्माण गरिएको जानकारी दिए । गुरुङले बाराहीघाट देखि हल्लनचोक सम्म र बीचमा पनि स्लोप राखिएको र अब ह्विलचियर प्रयोगकर्ताहरु फेवाकिनारमा आनन्दले घुम्ने दृश्यवालोकन गर्न पाउने बताए । अहिले महानगरले अपाङ्गमैत्री फुटपाथ भनेर बनाइरहेको फुटपाथ पूर्ण रुपमा अपाङ्गमैत्री नभएको उनको भनाइ छ । “दृष्टिविहिनहरुका लागि बिचमा पोल छन् भने ह्विलचियर प्रयोगकर्ताका लागि सन्तुलन नभएका फुटपाथ निर्माण गरिएको छ ।” उनेले सम्बन्धित निकायलाई यस विषयमा पटक–पटक जानकारी गराएपनि सम्बन्धित निकायले नसुनेको गुनासो गरे । अपाङ्गमैत्री भौतिक संरचना संचार निर्देशिका २०६९ मा सबै कुरा उल्लेख गरेपनि नीति निर्माता, कार्यान्वयन कर्ताले यस विषयमा वेवास्ता गरेको उनको भनाई छ ।
केन्द्रका महासचिव अन्जना के.सीले अपाङ्गमैत्री संरचनाको अभावले मठमन्दिरको दर्शन गर्नबाट ह्विलचियर प्रयोगकर्ता बञ्जित रहँदै आएको बताईन् । “पोखराको धेरै ठाउँमा यो समस्या छ । अहिले फेवाताल किनार बाराही मन्दिर परिसरमा निर्माण यस संरचनाले देश भित्र र बाहिरबाट आएका ह्विलचियर प्रयोगकर्तालाई केहि मात्रामा सहज हुनेछ” उनेले अपांगता भएकाप्रतिको सकारात्मक सोचको विकास नभएसम्म अझै संरचनाहरु बन्न नसक्ने बताईन् । उनेले केन्द्रको प्रयासमा बाराही मन्दिर दर्शन गर्ने मिल्ने संरचना तयार भएको बताईन् ।
साथी संसारका प्रबन्ध निर्देशक नारायण अधिकारीले विभिन्न अवस्था र समस्यामा रहेका ह्विलचियर प्रयोगकर्तालाई यस किसिमको कार्यक्रमले रिफ्रेस बनाएको बताए । अपाङ्गमैत्री संरचना बनाउन ठूलो लगानी भन्दा पनि सकारात्मक सोच सानो प्रयासबाट पनि सम्भव हुने उनको भनाई थियो ।
मन्दिर दर्शन कार्यक्रम पच्चीस जना ह्विलचियर प्रयोगकर्ता र उनीहरुका अभिभावकको उपस्थिती रहेको थियो । उनीहरुबीच अनुभव आदान प्रदान गरिएको थियो ।
मार्च १ मा अन्तराष्ट्रिय ह्विलचियर प्रयोगकर्ता दिवस मनाइन्छ । सोहि सन्दर्भमा विभिन्न कार्यक्रमहरु गरिएको केन्द्रका महासचिव के.सी जानकारी दिए ।