प्रहरीको कुटाइबाट आन्द्रामा ५२ टाँका, घटना अन्तराष्ट्रियकरण

बागलुङ, माघ १३ ।
प्रहरीको कुटाइबाट बाग्लुङ गलकोट–६ हरिचौरका ४० का वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । उनको आन्द्रामा ५२ टाँँका लगाउनुपरेको छ । पिसाबथैली फुटेको छ भने प्यांक्रियाज (फियो) बिग्रिएको छ ।

इलाका प्रहरी कार्यालय गलकोटअन्तर्गतको हटिया प्रहरीचौकीका प्रहरी हवल्दार प्रेम थापा र बुद्ध विष्टले बस्नेतमाथि निर्घात कुटपिट गरेका हुन् । स्थानीय सडक निर्माणका विषयमा आयोजित बैठकमा सहभागी भएर घर फर्कने क्रममा गत २९ पुसको राति ९ बजे बस्नेतमाथि कुटपिट भएको हो ।

बस्नेत केही महिनाअघि मात्रै थाइल्यान्डबाट घर फर्किएका हुन् । १२ वर्षदेखि थाइल्यान्डमा कार्यरत उनी बुबा बिरामी भएपछि घर आएका थिए । बुबाको स्वास्थ्य अवस्था सुधार भएपछि उनी केही महिनापछि थाइल्यान्ड फर्कने क्रममा थिए ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार कुटपिटमा संलग्न दुई हवल्दार प्रेम थापा र बुद्ध विष्टलाई निलम्बन गरिएको छ । घटनमा दोषी देखिएकाले दुवैलाई निलम्बन गरिएको जिप्रका बाग्लुङका एसपी दीपक रेग्मीले बताए । ‘प्रहरीबाट गल्ती भएकाले घटनामा संलग्न दुवै हवल्दारलाई कारबाही गरिसकिएको छ । घाइतेको उपचार भइरहेको छ,’ उनले भने ।

प्रहरीबाट भएको कुटपिटको विरोध गर्दै एसियाली मानवअधिकार आयोग (एएचआरसी) ले प्रतिवेदन सार्वजनिक गरेको छ । एडभोकेसी फोरमको हवाला दिँदै निकालेको प्रतिवेदनअनुसार बस्नेत सडक निर्माणको बैठकमा सहभागी भएपछि स्थानीय बिक्की गैरे र कृष्ण केसीसँगै घर फर्कँदै थिए । उनीहरू हटिया प्रहरीचौकी पुगेका थिए । नयाँपत्रिका दैनिकले खवर छापेको छ ।