प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्न काँग्रेसलाई नेकपाको आग्रह

पोखरा, साउन २ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्दैछन् । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक अवरुद्ध गर्ने जानकारी गराएको छ । प्रदेशसभाले प्रधानमन्त्रीको सम्बोधनको तयारी गरिसकेको छ ।

केन्द्रिय समितिको निर्णय भन्दै विहिबारको बैठक अवरुद्ध गर्ने काँग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिए । केन्द्रको निर्णय बमोजिम नेकपालाई जानकारी समेत गराईसकेको भन्दै उनले बैठक नचल्ने बताए ।

तर नेकपाका सांसदहरुले चाहीँ बैठक अवरुद्ध नगर्न आग्रह गरेका छन् । प्रशंग बाहिरका कुराले सदन अवरुद्ध गर्नु उचित नहुने भन्दै सांसद राजीव पहारीले निर्णय फिर्ता लिन आग्रह गरे । ‘प्रधानमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्नु गर्वको बिषय हो । यो प्रदेशबासीका लागि पनि खुशीको खवर हो, उनले भने–प्रधानमन्त्रीकै सम्बोधनको दिन सभा विथोल्नु गलत हो । यसले काँग्रेसलाई पनि फाईदा गर्दैन ।’

प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन बारे मन्त्रीपरिषद्को बैठकमा पनि छलफल हुनेछ । प्रदेश सरकारले २ बजेका लागि बैठक आह्वान गरेको छ । प्रदेशसभाले पनि कार्यब्यवस्था परामर्श समितिको बैठक डाकेको छ । ४ बजेका लागि बैठक डाकिएको प्रदेशसभाले जनाएको छ ।

नेकपाभित्र कुनै छलफल नभएको सांसद तथा माओवादीकी प्रमुख सचेतक गायत्री गुरुङले जानकारी दिईन् । कार्यब्यवस्था परामर्श समितिको बैठकपछि टुंगो लाग्ने उनको भनाई छ ।