पश्चिमबाट उदाएर पूर्वमा अस्ताए मन्त्री रवीन्द्र (फोटो र भिडियो हेर्नुस्)

पोखरा, फागुन १७ ।
नेपालीमा एउटा चल्तीको उखान छ, ‘घाम पश्चिमबाट उदाएछ ।’ यसको अर्थ ठाउँ र परिवेशअनुसार फरक हुन्छ । पश्चिमबाट उदाउनु केही राम्रो गर्नु वा अरु भन्दा भिन्न देखिनु भन्ने अर्थमा प्रयोग हुने बाक्यांश हो ।

रवीन्द्र अधिकारी नेपाली राजनीतिमा भिन्न स्वभावका नेता हुन् । उनी सानै उमेरदेखि राजनीतिमा छिरेर संघर्ष गर्दै केन्द्रसम्म पहुँच विस्तार गर्ने अटुट नेतृत्व खुवी भएका नेता हुन् । कहिलेकाहीँ उनको सफलता पश्चिमतिरैबाट उदाएजस्तो पनि भयो । अर्थात्, उनकै उमेरमा संघर्ष गर्नेहरु भन्दा अधिकारी निकै जोडले अघि लागे । उनको सफलताको वेग निकै तीव्र भयो ।

भूगोल हेर्दा रामघाट भरतपोखरीको पूर्वतर्फ पर्छ । भरतपोखरी रवीन्द्र अधिकारीको जन्मथलो हो । ४९ बर्षको उमेरमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि शुक्रबार अधिकारीको रामघाटमा अन्त्यष्टी गरिएको छ । त्यसो त दुर्घटनास्थल ताप्लेजुङ पनि पूर्वैतर्फ पर्छ ।

पूर्वबाट सूर्य उदाउनु प्रकृतिको निरन्तरता मात्रै हो । तर राजनीतिमा सूर्य पश्चिमबाट उदाएन भने चमत्कार हुँदैन । अरुभन्दा भिन्न शैलिबाट राजनीतिक प्रभाव छोड्न सफल मन्त्री रवीन्द्र पश्चिमबाटै उदाएका सूर्यजस्तो भए ।

उनको जीवनकालमा उनकै नेतृत्वमा धेरै ब्यवस्थाहरु फेरिए । सबै ब्यवस्थाको अगुवा थिए, रवीन्द्र अधिकारी । तत्कालीन समयमा राजदरवारमाथी धावा बोल्न सक्ने साहस राजनीतिको निरन्तरता मात्रै होईन, क्रम भंगता नै हो ।

उनै अधिकारी शाहज्यादा पारस शाहको विरुद्ध विद्यार्थीलाई बटुलेर ५ लाख हस्ताक्षर जम्मा गर्ने ब्यक्ति हुन् । उनी जहाँ रहेपनि केही नयाँपन देखाएरै छोडेका छन् । धेरैतिरको अनुभव लिएर पर्यटनमन्त्री बनेका अधिकारी नेपालको पर्यटन र हवाई क्षेत्रको विकासमा अग्रगामी छलाङ मार्न चाहान्थे । केही उनको सपना पूरा भएको छ, तर धेरै बाँकी छ ।

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भएपछि मन्त्री रवीन्द्र सहित ७ जनाको मृत्यु भयो । उनीहरुको शव बुधबार विहान काठमाण्डौं ल्याएर पोष्टमार्टम रिपोर्ट तयार गरेपछि काठमाण्डौंको टुँडीखेलमा श्रद्धाञ्जली दिईयो ।

मन्त्री अधिकारीको शव शुक्रबार विहान सेनाको जहाजबाट पोखरा ल्याईएको हो । प्रदर्शनी केन्द्रमा ४ घण्टाजती सुभेच्छुक र शुभचिन्तकले श्रद्धाञ्जली दिएपछि रामघाटमा राजकीय सम्मान सहित अन्तिम दाहसंस्कार गरिएको हो ।

भिडियो हेर्नुस् ।