निर्मला हत्या प्रकरण–प्रदीप र विशाललाई फसाइँदैछ ? (घटना यस्तो छ)

काठमाण्डौं, मंसिर २४ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना पुग्न लागिसकेको छ । तर हत्यामा संलग्न वास्तविक अभियुक्त पहिचान समेत हुन सकेको छैन ।

पछिल्लो समय प्रहरीले निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा २ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का प्रदीप रावल र विशाल चौधरीमाथि अनुसन्धान गरिरहेको प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्त ‘नजिक’ पुगिसकेको बताएको छ ।

निर्मला प्रकरणमा घटनाको शुरूवाती अनुसन्धानमै गम्भीर नदेखिएको प्रहरीमाथि पछिल्लो पटक रावल र चौधरीको नियन्त्रणलाई लिएर पनि विभिन्न प्रश्न उठ्न थालेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित एक स्थानीय दैनिक पत्रिकाले प्रहरी हिरासतमा रहेका प्रदीप र विशाल ‘निर्दोष’ रहेको उल्लेख गर्दै घटना भएको दिन (साउन १० गते) दुवैजना प्रहरी हिरासतमा रहेको लेखेको छ ।

उनीहरू प्रहरी हिरासतमा रहेको विषयलाई एक पसलबाट ‘कुखुरा चोरी’ भएको घटनासँग जोडिएको छ । कुखुरा चोरी भएको भनिएको पसलका सञ्चालक हुन, भीमदत्त नगरपालिका–१८ पथ्थरपुरका पुनिराम चौधरी । चौधरीलाई त्यहाँका स्थानीयले ‘पाले दाइ’ भनेर बढी चिन्छन् ।

साउन ९ गते बुधवार (निर्मला घरबाट हराएको अघिल्लो दिन) राति ८ बजेपछि पुनिराम आफ्नो पसल बन्द गरेर पथ्थरपुरस्थित आफ्नो घरतर्फ लाग्छन् । भगतपुरको सैनिक व्यारेकनजिक रहेको पसलबाट पैदल हिँडेर घर पुग्न पुनिरामलाई १० मिनेटजति लाग्छ । दोस्रो दिन (साउन १० गते) बिहान ८ बजेतिर पुनिराम पसलमा पुगे ।

पसल पुग्दा भित्र तोडफोड भएजस्तो देखियो । त्यसपछि उनले हतार–हतार घर्रामा हेरे । दोस्रो दिनका लागि कुखुरा र माछा किन्न अघिल्लो दिनको साँझ उनले घर्रामा १६ हजार रुपैयाँ राखेका थिए । घर्रामा हेर्दा थाहा भयो, पैसा चोरी भएछ । पैसा मात्र हैन खाना पकाउने (एलपी) ग्यासका दुई सिलिन्डर, साँझ बाँकी रहेको कुखुराको मासु, मासु पोल्ने मेसिन र पानीसहितको ग्यालेनमा रहेका जिउँदा माछा समेत चोरी भएका रहेछन् ।

पसलमा चोरी भएको देखेपछि पुनिरामले स्थानीयलाई खबर गरे । स्थानीयले भीमदत्त– १८ कै प्रदीप रावलमाथि शंका गरे । पुनिरामको पसलमा स्थानीयको भीड जम्मा हुँदासम्म प्रदीप पनि त्यहाँ पुगिसकेका थिए । प्रदीपलाई देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरे ।

स्थानीयले खबर गरेको करीब १५ मिनेटपछि प्रहरी बिट सालघारीबाट २ जना प्रहरी पुनिरामको पसलमा आइपुगे । स्थानीयले प्रदीपलाई देखाउँदै ‘उसैले चोरी गरेको हो’ भने । प्रहरीले पुनिरामकै अगाडि प्रदीपमाथि केरकार र्गयो । दुईमध्ये एक प्रहरीले प्रदीपलाई एक झापड समेत हाने । प्रदीपले आफूले चोरी नगरेको जिकिर गरे । बरु, आफ्ना साथी विशाल चौधरीले चोरी गरेको जानकारी आफूले पाएको प्रहरीलाई ‘सूचना’ दिए ।

प्रहरीले प्रदीपलाई ‘बोलाएका बेला चौकीमा आउनुपर्ने’ भन्दै पुनिरामकै अगाडि ‘नियन्त्रणमा नलिई’ छाडिदियो अनि पुनिरामलाई चोरीबारे उजुरी दिन वडा प्रहरी कार्यालय जान भन्यो । सोही दिन (साउन १० गते) दिउँसो २ बजे पुनिराम उजुरी दिन वडा प्रहरी कार्यालय महेन्द्रनगर पुगे । भीमदत्त नगरपालिका– १८ का विशाल चौधरीले आफ्नो पसलबाट नगद, कुखुराको मासु, माछा, ग्यासका २ सिलिन्डर र एउटा मासु पोल्ने मेसिन चोरी गरेको भन्दै वडा प्रहरी कार्यालयमा उजुरी दिए ।

पुनिरामले दिएको उजुरीका आधारमा प्रहरीले साउन १० गते साँझ ५ः३० बजेतिर विशाललाई पक्राउ गरेर हिरासतमा राख्यो । दोस्रो दिन (साउन ११ गते) दिउँसो ३ बजेतिर विशालका आमाबुवाको रोहवरमा कागज गरेर विशाललाई छाडियो । सामान्य ठेकेदारी गर्ने विशालका बुवाले पुनिरामको पसलबाट भएको चोरी बराबर आफूले नगद फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेपछि विशाल प्रहरीको हिरासतबाट छुटेका थिए ।

पुनिरामले आफ्नो पसलबाट चोरी भएको १६ हजार रुपैयाँ नगदसहित कुखुराको मासु, माछा, ग्यासका २ सिलिन्डर र एउटा मासु पोल्ने मेसिन गरी २७ हजार रुपैयाँ फिर्ता पाउने गरी सम्झौता भएको बताए । तर अहिलेसम्म पनि चोरी भएको सामान बराबरको पैसा भने फिर्ता नपाएको उनले सुनाए ।

निर्मला कान्डमा प्रदीप र विशाल ‘निर्दोष’ हुन् ?

निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा साउन ११ गते (शुक्रवार) बिहान शव फेला परेको थियो । प्रदीप रावल अघिल्लो दिन साँझसम्म घरमै भएको स्थानीयहरू बताउँछन् । तर शुक्रवार दिउँसोदेखि प्रदीप घरमा देखिन छाडेका स्थानीयको भनाइ छ ।

प्रहरीका अनुसार प्रदीप सोही दिन भारतको खटिमास्थित आफ्नो मामाघर गएका थिए । त्यसको केही दिनपछि प्रदीप महेन्द्रनगर फर्किएका थिए । निर्मला हत्याकाण्डको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट डीएसपी अंगुर जिसी नेतृत्वको टोलीले प्रदीपलाई नियन्त्रणमा लिएर सोधपुछ पनि गरेको थियो । त्यतिबेला उनीविरुद्ध कुनै प्रमाण फेला नपरेपछि प्रहरीले छाडेको थियो ।

सीआईबीको टोलीले छाडेपछि प्रहरीले प्रदीपलाई पुनः पक्राउ गरेको थियो । त्यतिबेला पनि उनीविरुद्ध प्रमाण जुटाउन नसकिएपछि छाडिएको थियो । तर गत मंगलवार काठमाडौंबाट सीआईबीकै टोलीले प्रदीपलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

निर्मलाको बलात्कारपछि हत्यामा आफूसहित साथी विशालको पनि संलग्नता रहेको भन्ने प्रदीपकै बयानका आधारमा विशाललाई पनि पक्राउ गरिएको छ । कञ्चनपुर प्रहरीले पक्राउ गरेका विशाललाई काठमाडौं ल्याएर अनुसन्धान हुँदैछ । प्रहरीले दुवैजनाको डीएनए परीक्षणका लागि नमूना समेत संकलन गरिसकेको छ । प्रहरीकै भाषामा ‘छिट्टै’ डीएनए रिपोर्ट समेत सार्वजनिक हुँदैछ ।

तर कञ्चनपुरका केही ‘अधिकारकर्मी’ले भने प्रदीप र विशाल ‘निर्दोष’ रहेको भन्दै उनीहरूको पक्राउप्रति विरोध जनाएका छन् । उनीहरूलाई पनि भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलिप सिंह विष्टलाई जस्तै फसाउन खोजिएको अधिकारकर्मीहरूको भनाइ छ ।

कञ्चनपुरबाट प्रकाशित एक पत्रिकाले दुईजना अधिकारकर्मी शारदा चन्द र मिना भण्डारीले जिल्ला प्रहरी कार्यालयमा गएर प्रदीप र दिनेश पक्राउ परेको कागजात हेरेको विषय उल्लेख गर्दै निर्मलाको बलात्कार भएको दिन उनीहरू दुवैजना प्रहरी हिरासतमा रहेको लेखेको छ ।

यस विषयमा बुझ्दा अधिकारकर्मी चन्द अहिलेसम्म प्रदीप र दिनेशको पक्राउबारे बुझ्न जिल्ला प्रहरी कार्यालय नपुगेको पाईएको छ । अधिकारकर्मी मिना भण्डारी मात्रै शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेको स्रोतले बतायो ।

जिप्रका कञ्चनपुर पुगेर अधिकारकर्मी भण्डारीले कुखुरा चोरीको प्रकरणमा पक्राउ परेका व्यक्तिको कागजात हेरेकी थिइन् ।
भण्डारीले आफुँ जिप्रका गएर पसल सञ्चालक पाले (पुनिराम) चौधरीले प्रहरीमा दिएको उजुरी र उनको उजुरीका आधारमा पक्राउ परेका व्यक्तिको विवरण उल्लेख गरिएको रजिष्टर हेर्न पाएको जानकारी दिइन् ।

पसलधनी पुनिरामले प्रहरीमा दिएको उजुरीमा विशाल चौधरीको नाम मात्रै उल्लेख भएको देखेको अधिकारकर्मी भण्डारीले लोकान्तरलाई जानकारी दिइन् । यस्तै चोरीको अभियोगमा विशाल चौधरीलाई मात्रै पक्राउ गरेको विवरण मात्रै रजिष्टरमा उल्लेख गरिएको देखिएको छ ।