निर्मला प्रकरण–‘मुख्य अभियुक्त’ बनाइएकाहरू घटनाको दिन प्रहरी हिरासतमै रहेको खुलासा

कञ्चनपुर, मंसिर २३ ।
प्रहरीले मुख्य शंकास्पद ठानेका प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरी निर्मला पन्तको बलात्कार पछि हत्याका दिन फरक समयमा प्रहरी नियन्त्रणमै रहेको खुलेको छ ।

घटनास्थल क्षेत्रमा रहेको कुखुराको मासु पसलमा साउन ९ गते चोरी भएको घटनामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । निर्मला पन्त साउन १० गते बिहान ११ बजे घरबाट निस्केकी उनी बेपत्ता भएकी थिइन् । त्यसको भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

कञ्चनपुरको ईलाका प्रहरी कार्यालय सालघारीले साउन १० गते बिहान प्रदिप रावललाई नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छाडिएको प्रहरी रेकर्डले देखाएको छ । उनकै बयानका आधारमा चोरी अभिायेगमा सोही साँझ बिशाल र दिनेश चौधरी पक्राउ परेका थिए । उनीहरु दुवैलाई ईलाका प्रहरी कार्यालय सालघारीले वडा प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाएको थियो ।

दुवै जनालाई साउन ११ मा आफन्तको जिम्मा लगाएर पठाइएको थियो । कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कठायतले रावल र चौधरीद्वय थुनामा रहेको रेर्कड रहेको बताए । उनकाअनुसार प्रदिपलाई प्रहरीले चोरी कार्य नगरी सुध्रनका लागि सम्झाई बुझाई पठाएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका प्रदिप रावलले गाँउलेहरुसँग निर्मलाका विषयमा भनेको विषयले उनलाई प्रहरीले अनुसन्धानमा तानेको हो ।

मोबाइलको लोकेशन, सोधपुछ र उनको भूमिकाले प्रहरी यसपटक सफलता हात लाग्नेमा सकारात्मक देखिएको थियो । प्रारम्भिक बयानमा उनका कुरा शंकास्पद देखिएको प्रहरी भनाइ छ । उनले गाँउलेसँग आफू निर्मलाको प्रेमी भएको बताउने गरेको र घटनाका दिन उनको मोबाइल घटनास्थलमा सक्रिय रहेकाले प्रहरीको अनुसन्धान सूई उनमा गएर रोकिएको थियो । उनीहरूको बयानमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैँ उपस्थित भएका थिए ।

ब्यूरोले प्रदिपको बयानपछि महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीलाई नियन्त्रणमा लिएको हो ।–नेपालखवरले यो समाचार लेखेको छ ।