ट्र्याक्टरले किचेर दुई वर्षीय बालकको मृत्यु

महोत्तरी, मंसिर २४ ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

आइतबार घर अगाडि खेलिरहेको बालक साफीलाई ज १ त ७११२ नम्बरको ट्र्याक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए भने बालक साफीलाई उपचारको लागि भारतमा लगिएको र आज बिहान उनको उपचारकै क्रममा भारतमै मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।