गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ ।
जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्म उक्त संख्यामा मतदाता थपिएका हुन् ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी मिति तोकेसँगै गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको हो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो । उक्त अवधिमा गोरखामा कुल सात हजार ८७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङख्या एक हजार ५५० रहेको छ । जसमध्य ९०८ पुरुष र ५९४ महिला रहेका छन् । यस्तै, ६ हजार २३५ जनाले राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराएका छन् । यसअघिको निर्वाचनपछि र नयाँ दर्ता भएको समेत गरी गोरखामा मतदाताको सङ्ख्या कुल दुई लाख २९ हजार ७६६ पुगेको सुवेदीले जानकारी दिए ।
पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकाहरुमध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुटाउनलाई भने केही समय लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यता नयाँ नामावली दर्ता गर्नेमा अधिकांश किशोर ९जेनजी० उमेर समूहका रहेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुवेदीले बताए ।
उनका अनुसार विगतको तुलनामा यसपटक मतदाता नामावली दर्ता गर्नेमा युवा पुस्ताको उत्साह देखिएको छ । गोरखामा यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका थिए ।


