गोरखामा छुरी हान्दा एकजना गम्भीर घाईते

पोखरा, असोज २ ।
गोरखाको धार्चे गाउँपालिका ४ स्थित लाप्राकमा छुरी प्रहारबाट भूमे मण्डी सामुदायिक वनका अध्यक्ष गम्भिर घाइते भएका छन् । स्थानीय रामचन्द्र गुरुङले लाप्राक गाउँबाट नमुना बस्ती हेर्न पुगेका वनका अध्यक्ष डिल बहादुर गुरुङलाई छुरी प्रहार गरेको गाउँपालिका प्रमुख सन्तबहादुर गुरुङले जानकारी दिए ।

स्थानीय यमकुमारी गुरुङका अनुसार घाइते गुरुङको ढाडमा चोट लागेको छ । ‘डिलमान दाई नमुना बस्ती हेर्न भनेर गएको रहेछ’ यमकुमारीले भनिन् ‘रामचन्द्रसँग त्यहिँ भेट भएछ । कुनै कुरै हुन नपाई एक्कासी आएर छुरी हानेछ । पहिले कुनै रिसिबी पनि थिएन भन्छ । किन हानेको थाहै छैन ।’

घाइते गुरुङको ढाडमा स्थानीय स्वास्थ्यसंस्थामा उपचार भैरहेको छ । सात वटा टाँका लगाइएको स्वास्थ्यचौकीले जनाएको छ ।

रक्सी पिएका रामचन्द्रलाई लाप्राक नमुना बस्ती निर्माणमा खटिएको नेपाली सेनाको निर्माण दलले नियन्त्रणमा लिएर क्याम्प भित्र राखेको छ । घाइते गुरुङलाई भने थप उपचारको लागि गोरखा सदरमुकाम ल्याउने तयारी गरेको यमकुमारीले जानकारी दिईन् ।