खुल्यो प्रदेश सरकारको बाटो, सांसदको सपथ

प्रकाश ढकाल
पोखरा, माघ ८ ।
आईतबार प्रदेश नम्बर ४ का सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशका जेठा सांसद जनकलाल श्रेष्ठले ५७ जना सांसदलाई सपथ गराए । ६७ बर्षिय श्रेष्ठले त्यसअघि नै प्रदेश प्रमुख बाबुराम कुवँरसँग उनकै कार्यकक्ष (साविक अध्यागमन कार्यालय) मा शपथ बुझेका थिए । श्रेष्ठ नयाँ सभामुख निर्वाचित नभएसम्मका लागि स्वतः सभामुख समेत तोकिएका छन् । प्रश्तावित प्रदेशसभाको भवन पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको सभाहलमा शपथको कार्यक्रम गरिएको हो । सामुहिक शपथ ग्रहण हुँदा २ जना सांसद सहभागी भएनन् । तनहूँ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का सांसद रामबहादुर गुरुङ र मनाङको प्रदेशसभा (ख) का सांसद राजीव गुरुङ (दीपक मनाङे) कार्यक्रममा सहभागी नभएका हुन् । तर रामबहादुर ढिलो गरी उपस्थित भएका कारण पछि उनलाई सपथ गराईएको छ । राजीव भने ज्यान मार्ने उद्योग मुद्दामा अदालती फैसलापछि पक्राउ आदेश लिएर बसेको प्रहरी नजिक पर्न चाहेनन् । उनी पक्राउ पुर्जी काटेको खवर पाएपछि फरार छन् । उनको शपथ पछि हुनेछ ।
शपथ नलिएका कारण मनाङे राष्ट्रियसभा सदस्यको निर्वाचनमा पनि सहभागी हुन पाउने छैनन् । ‘आज निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ । आईतबार सपथ लिएकाजति सबै मतदाता भएका छन्, क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले भने–राजीव गुरुङको बारेमा हामीले केन्द्रमा लेखि पठाएका छौं । सम्भवतः वहाँले भोट हाल्न पाउनुहुन्न ।’ राजीवको नाम घटेपछि राष्ट्रियसभा सदस्य चुनावका लागि ४ नम्बर प्रदेशबाट २ सय २९ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले माघ २५ गतेका लागि चुनाव घोषणा गरेर कार्यतालिका अनुसार काम गरिरहेको छ ।
सांसदहरुले पद तथा गोपनीयताको सपथ लिएपछि देशको संघीय प्रणाली अनुसार दोश्रो तहको सरकारले आकार लिन थालेको छ । शपथ बुझेपछि यहाँका सांसदहरु आपसी भेटघाट र विकासे एजेण्डाबारे छलफल गर्न थालेका छन् । मुस्ताङका सांसद ईन्द्रधारा विष्ट प्राकृतिक श्रोत र सम्पदालाई उच्चतम उपयोग गरेर आर्थिक बृद्धीदर बढाउने बताउँछन् । नवलपुरका सांसद कृष्णचन्द्र नेपाली पनि विकासका आधारभुत पुर्वाधार विस्तारका लागि आँफ्नो सक्रियता रहने धारणा राख्छन् । ‘कालिगण्डकी कोरिडोर ४ नम्बरको विकासे ढोका हो । त्यसबाहेक यहाँका अन्य राजमार्ग पनि स्तरोन्नती र विस्तार गर्नुछ, उनले भने–जनताले मलाई काम गर्नका लागि निर्वाचित गरेका हुन् । उनीहरुको भावना मर्न दिन्न ।’ कास्कीका सांसद विन्दुकुमार थापा पनि प्राकृतिक श्रोत साधनको प्रयोग तथा निजी क्षेत्रको लगानी बढाउने योजना बुनिरहेका छन् । उनले एग्रो टुरिजमलाई समृद्धीको मुख्य एजेण्डाको रुपमा स्थापित गर्ने बताए । गोरखाका सांसद हरिशरण आचार्यले राजनीतिक सहमति मै मन्त्रिमण्डल विस्तार गर्ने र विकासको गुरुयोजना तयार गरेर काम थाल्ने प्रतिक्रिया दिए । तनहुँकी सांसद आशा खनालले विकेन्द्रिकरणको अभ्यास सुरु भएकाले यसलाई टुंगोमा पु¥याउने प्रतिबद्धता जनाईन् । सबैजसो सांसदहरुले विकासे मोडलबारे आफ्ना धारणा पोखिरहेका छन् ।
प्रदेशको पहिलो बैठक निर्वाचन परिणाम आएको २० दिनभित्र बोलाउनुपर्ने प्रावधान छ । प्रदेश प्रमुखले सभाको बैठक बोलाउनेछन् । अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नेछन् । प्रदेश सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्य मन्त्री नियुक्त गर्ने ब्यवस्था संविधानमा छ । एकल पार्टीको बहुमत नपुगे दुई दलको समर्थन प्राप्त गर्नेलाई नियुक्त गर्नुपर्ने छ । बैठकको १५ दिनभित्रै प्रदेश सभाको सभामुख र उपसभामुख निर्वाचित हुनेछन् । त्यसपछि प्रदेश सरकारले आफ्नो मन्त्री मण्डल विस्तार गर्नेछ ।