काँग्रेस कास्की २ को सभापतिमा बास्तोला, प्रदेशमा आचार्य र मर्सानी

पोखरा, भदौ २० ।
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ मा नयाँ समिति बनाईएको छ । यसअघि दुईवटा क्षेत्रका सभापति एउटै निर्वाचन क्षेत्रमा परेपछि सोही अनुसार समायोजन मिलाईएको हो । काँग्रेसको प्रदेश कमिटी पनि गठन भएको छ ।

क्षेत्र नम्बर २ र ३ मिसिएर बनेको २ नम्बर क्षेत्रको सभापतिमा पुनः माधवप्रसाद बास्तोला मधु चयन भएका छन् । उनी यसअघि पनि २ नम्बर क्षेत्रकै सभापति थिए । ३ नम्बर क्षेत्रका सभापति बिजयराज आचार्य चाहीँ क्षेत्र नम्बर २ प्रदेश (क) को सभापति बनेका छन् ।

यस्तै, २ नम्बर क्षेत्र (ख) को सभापतिमा दीपेन्द्र मर्सानी चयन भए । उनी क्षेत्र नम्बर २ का निवर्तमान सचिव हुन् । काँग्रेसले कास्कीको ३ वटै निर्वाचन क्षेत्रमा राज्य संरचना अनुसार समिति गठन गर्न लागेको हो ।