एमबीबीएसमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने प्रावधान लागू गराउन त्रिविलाई शिक्षा मन्त्रालयको निर्देशन

 

काठमाडौं, भदौ १९ ।

शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने चिकित्सा शिक्षा ऐनमा रहेको प्रावधान लागू गराउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ ।

चिकित्सा शिक्षा ऐनमा उल्लेख भएबमोजिम यसै शैक्षिकसत्रदेखि नै स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नेमा मन्त्रालयले प्रतिबद्धता जनाउँदै यस्तो निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नाममा जारी निर्देशनमा ऐनमा उल्लेख भएबमोजिम छात्रवृत्तिसम्बन्धी प्रावधान यसै वर्षदेखि लागू हुने र साझा प्रवेश परीक्षासम्बन्धी व्यवस्था आगामी शैक्षिकसत्रबाट लागू गरिने उल्लेख गरिएको छ ।

यस्तै, विद्यार्थीहरु भर्ना हुँदाको सम्पूर्ण शुल्कको किस्ताबन्दीको बैंक भौचर त्रिभुवन विश्वविद्यालयले बुझेरमात्र सम्बन्धित मेडिकल कलेजहरुमा पठाउनसमेत भनिएको छ ।

निर्देशनात्मक उक्त पत्रमा त्रिविले मेडिकल शिक्षामा लिएको रजिस्ट्रेसन शुल्कसमेत सार्वजनिक गर्न र होस्टेल शुल्क, खाना शुल्क राष्ट्रियस्तरको सन्चारमाध्यममा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ ।

विद्यार्थीहरुले सरकारी मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भइसकेको ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान लागू गराउन आन्दोलन गर्दै आएका थिए ।

उनीहरुले महाराजगन्जस्थित चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मासमेत तालाबन्दी गरेका थिए ।

यस वर्षको एमबीबीएसको प्रवेश परीक्षा शुक्रबार (भोलि) हुँदैछ । (ईमेजखबरबाट साभार)