समाज कल्याणमा ब्रह्मलुट–गण्डकी प्रदेशकी सांसद कोइराला सहित दुई पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस
काठमाण्डौं, पुस ३० ।
सरकारद्धारा पूर्वन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन आयोगले समाज कल्याण परिषद्मा व्यापक अनियमितता हुने गरेको तथ्य खुलासा गरेको छ । परिषद्का विभिन्न गतिविधिहरूमा अनियमितता गरेको आरोपसहित आयोगले २ मन्त्रीसमेतलाई कारबाहीको सिफारिस गरेको छ ।
कारबाहीको सिफारिसमा परेका दुई पूर्वमन्त्रीमा आशा कोइराला र विक्रमबहादुर थापा छन् । कोइराला ०७४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट मन्त्री भएकी थिइन् भने थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मन्त्री भएका थिए ।
कोइराला हाल गण्डकी प्रदेशसभा सदस्य हुन् । तनहुँ क्षेत्र नम्बर २ ’क’ बाट उनी निर्वाचित भएकी हुन् । थापा भने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ७ बाट पराजित उम्मेदवार हुन् ।
समाजकल्याण परिषद्मा व्यापक अनियमितता भएको आरोप छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले गत १८ साउनमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय गरेको थियो । विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित उक्त छानबिन आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले प्रतिवेदनअनुसार कारबाही अघि बढाउन मन्त्रिपरिषद्ले अनुमति दिइसकेको जानकारी दिइन् ।
आयोगले गरेको छानबिनले परिषद्का हरेकजसो गतिविधिमा अनियमितता हुने गरेको देखाएको छ । त्यस्तो अनियमिततामा मन्त्रीदेखि आयोगकै उच्च पदस्थ पदाधिकारीको मिलेमतो देखिएको प्रतिवेदनमा उल्लेख छ ।
अनियमितता गरेको आरोपमा यसअघि निलम्बनमा परेका परिषद्का तत्कालीन सदस्य सचिव डिल्ली भट्ट पनि आयोगको कारबाही सिफारिसमा परेका छन् । जग्गा भाडामा लगाउँदा, गैरसरकारी संस्था (एनजिओ)लाई सञ्चालन अनुमति दिँदा तथा अनुगमन गर्दा अनियमितता भएको, औषधि उपचार तथा अनेक शिर्षकमा किर्ते कागजात खडा गरी अनियमित खर्च गरेको आरोप आयोगले लगाएको छ ।