रक्सी पिएर होटल मालिकले छुरा हाने, एकजनाको मृत्यु
बाँके, कार्तिक २४ ।
रक्सी पिएर बाँकेमा छुरी हानाहान भएको छ । होटल सञ्चालकसँग विवाद भएपछि एक युवकको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते बुढामगरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपका बेला होटल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ ।
छुरा प्रहार गरेको आरोपमा होटल सञ्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।