यसवर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक कोइरालालाई

 

काठमाडौं, भदौं ३१ ।

दोस्रो जनआन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिंदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यसवर्ष पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पूर्वप्रधानमन्त्री कोइरालालाई संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले आगामी ३ असोजमा सो पदक प्रदान गर्न लागेको हो ।

प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त सो पदक प्रदान गर्न लागिएको जानकारी दिए ।

सो पदक राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ ।

गत वर्ष सो पदक लोकतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो भने त्यसअघि पूर्व राष्ट्रपति रामवरण यादव, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई दिइएको थियो ।

यसैगरी शान्तिनायक गिरिजाप्रसाद कोइरालालाई समेत मरणोपरान्त सो पदक प्रदान गरिएको थियो । (ईमेजखबरबाट साभार)