‘मेरो भनाई कुनै बर्ग लक्षित हैन, समाजमा पुरुष बेश्याहरु पनि हुन्छन् नि’

पोखरा, असोज ७ ।
पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भैरहेको छ । नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ । त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो । किनभने ५/७ बर्षपछि यति धेरै बाटो बन्दैछ । पोखराको होटल ९ बजे बन्द हुन्छ । ईन्टरनेशनल फ्लाईट हुन्छ, कुनै फ्लाईट ११ बजे उत्रिन्छन् । कुनै चाहीँ २ बजे उत्रिने खालको पनि हुन सक्छ । अनि २ बजे आउने पर्यटकले पोखरामा सुत्न पाउने कि नपाउने ? यस्तो भयो भने पोखरामा पर्यटक आउँछन् कि आउँदैनन् ?

त्यसकारणले सिंगो पोखरालाई नसकेपछि बैदामलाई चौविसै घण्टा खोलौं । जुन शहर २४ सै घण्टा निदाउँदैन त्यो सहर विकसित भएको छ । सिफ्टमा कर्मचारी राखेर भएपनि होटल चालू गर्नुपर्छ । त्यही सन्दर्भमा केही साथीहरुको सुझाव थियो । माग चाहीँ छ भित्रभित्रै, यहाँ अब्यवस्थित यौन ब्यवसाय छ, यसलाई ब्यवस्थित गर्नुप¥यो भन्नुभएको छ । मैले मात्रै के भनेको हो भने समाज दुईतिर विखण्डित हुँदै गयो । कुहिँदै गयो । हाम्रो नैतिकता, हाम्रो मौलिकता चाहीँ कमजोर भैरहेको छ । समाजमा यस्तो धेरै घटना भएको छ । पीडितलाई कारबाही हुँदैन । सबै ब्यक्तिहरु छुटिरहेका छन् । अव यसलाई छलफल गर्ने बेला सुरु भयो, यही पक्षमा मेरो धारणा राखेको हो ।

यौन ब्यवसायको बारेमा संसारमा धेरै अभ्यासहरु छन् । युरोपका धेरै देशको ब्यवसाय मैले अध्ययन गरें । यसमा ४ वटा कुरा छ । एउटा भनेको प्रतिबन्ध लगाउने हो । दोश्रो जे जे अपराध भएपनि छोडिदिने हो । तेश्रो कानुन निर्माण गरेर रेगुलेसन गर्ने कुरा रहेछ । र अन्तिममा निर्मूल गर्ने अभियान सञ्चालन गर्ने भन्ने कुरा छ । चारवटा मध्ये एउटा त गर्नेपर्छ । हामीलाई जे उचित लाग्छ त्यसैमा बहस चलाऔं भनेको हो ।

रेगुलेसनको बारेमा मैले आईडेन्टी कार्ड दिएर सञ्चालन गर्न दिने कुरा भनेको थिएं । अरुतिर यस्तो कानुनी प्राबधान गरेको पनि देखिन्छ । समाजका दुर्गन्धीत चिजहरु समाजमा राख्नुहुँदैन भनेर अर्कै टापुमा राख्नुपर्छ भनेर रेडलाईट एरिया बनाएको पनि छ । २० बर्षअघि बेईजिङमा रेडलाईट एरिया आवश्यक छ कि छैन भनेर बहस नै थालिएको थियो । ठीक बेठीक बेग्लै कुरा हो तर चीनजस्तो समाजवादी मुलुकमा रेडलाईट एरिया छ भन्ने हामीले सुनेकै छौं । त्यसकारण कुनचाहीँ प्रक्रियामा जाने हामी ? यसले समाजलाई विकृत बनाएको छ कि छैन ?

ढोंगी हुनु चाहीँ पर्दैन । भित्रभित्रै कुहिने र बाहिर सफा छु भनेर ढोंग पालेर कति दिन चल्छ यो समाज ? हामीले भनेका छौं–समाजलाई सुन्दर, सफा, सभ्य र शान्त बनाऔं यो प्रदेशलाई । यसका लागि यि कुराहरु पनि ब्यवस्थापन हुनुपर्छ कि पर्दैन ? मेरो आसय यो थियो । तर मिडियाले फरक कुरा लेखिदिए । त्यो पनि ठीकै छ, बहस चलाउन चाहेको थिएँ । बहस सुरु भयो । म यसलाई राख्नुपर्छ कि पर्दैन भन्ने पक्षमा हैन । तर बहस चाहीँ गर्नुपर्छ । कि त निर्मुल गर्नुपर्छ नभए सोच्नुपर्छ । कहिलेकाहीँ यसलाई गैर कानुनी भन्छौं हामी ।

मैले त अचम्म पनि सुनेको छु है । यस्तो काममा लागेका हाम्रो समाजमा तीनथरिका जेण्डर छन् । मेल पनि छन् फिमेल पनि छन् र थर्ड जेण्डर पनि छन् । त्यसकारण महिलालाई अपमान ग¥यो किन भन्नुहुन्छ ? मलाई यो शब्द प्रयोग गर्दा माफी दिनुहोला, समाजमा बेश्याहरु त पुरुष पनि हुन्छन् नि महिला मात्रै हुन्छन् र ? आजको अभ्यासमा धेरै महिलाहरु होलान् तर थर्ड जेण्डरहरु, गेहरु पनि छन् । त्यसैले कुनै जेण्डर प्रति र बर्गप्रति लक्षित होईन मेरो कुरा । यो समाजको एउटा कलंक हो । कि यसलाई निर्मूल गरौं कि रेगुलेट गरौं । मैले यति मात्रै भनेको हो । सेन्स चाहीँ बुझ्नुपर्छ, पत्रकारहरुले पनि ।
गण्डकी प्रदेशसभालाई सम्बोधनको क्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बक्तब्यको एक अंश ।