भारतसँग जोडिएका नाका बन्द
बैतडी, चैत ७ ।
विश्वभरि कोरोना भाइरसको त्रास फैलिरहेका बेला बैतडीको तल्लोसोराडमा भारतसँग जोडिएका सबै नाकाघाट बन्द गरिएका छन् ।
शिवनाथ गाउँपालिकाको नागार्जुनघाट र कुस्मौदघाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वरघाट, विनायकघाट र धरमघाट बन्द गर्ने निर्णय भएको हो ।
गत फागुन २९ गते बसेको बैठकले शिवनाथ गाउँपालिका–१ र पञ्चेश्वर गाउँपालिकाका–३ घाट बन्द गर्ने र अरु घाट सञ्चालनमा ल्याउने निर्णय गरेको भए पनि खुला राख्ने निर्णय भएको थियो ।
खुला राख्ने घाटमा पनि उपकरणको व्यवस्था गर्नसक्ने अवस्था नभएपछि घाट बन्द गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण्सिंह साउदले बताए ।
उनले भने, “कोरोनाको विश्वव्यापी सङ्क्रमणको जोखिम हेरर हामीले गाउँपालिकासँग जोडिएका सबै घाट बन्द गर्ने निर्णय गरेका छौँ । यो निर्णय कार्यान्वयनमा सबै सरोकारवालालाई आग्रहसमेत गरेका छौँ ।”
बिहीबार बसेको गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले घाट बन्द गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताए ।
यसका साथै कोरोनाको सङ्क्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए ।
यस्तै पञ्चेश्वर गाउँपालिकाको पनि बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकासँग जोडिएका घाट बन्द गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले बताइत् ।
उनले भनीन्, “डुङ्गा तथा ट्युबबाट महाकाली नदी वारपार गर्ने सबै घाट बन्द गर्ने निर्णय गरेका छौँ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यो निर्णयमा पुगेका हौँ ।”
घाट बन्द गर्ने निर्णयमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रहसमेत गरेको उपाध्यक्ष भट्टले जानकारी दिइन् । (रासस)