बेतलवी मास्टरका सभामुख यात्रा (रोचक इतिहास)

प्रकाश ढकाल
पोखरा, फागुन ३ ।
जन्मिँदा पञ्चायत शासनको बर्बरता थियो । हुँदा खानेलाई हुनेखानेहरुले सारो थिचोमिचोमा राख्थे । पढ्ने पढाउने संस्कारको विकास भएको पनि धेरै भैसकेको थिएन । थोरैले मात्रै पढ्थे, त्यो पनि निकै दुखका साथ । राज्यले नै जनतालाई बडो कठोर ब्यवहार गथ्र्यो । कसैले विरोध गर्दा सीधै जेल जानुपथ्र्यो । सबैकुरा नजिकैबाट नियालीरहेका नेत्रनाथ अधिकारी आन्दोलनकारीको पछि लागेर सरकारको विरोध सँधै गरिरहे । २०२२ सालमा पर्वतको पाङमा जन्मिएका उनी १६ बर्ष पुग्दा नपुग्दै कम्युनिष्ट आन्दोलनको सदस्य भैसकेका थिए । २०३८ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौंथो महाधिवेशनबाट सदस्यता लिई राजनीतिमा छिरेका उनी मास्टरी पृष्ठभूमिका नेता हुन् । पञ्चायतको विरोध गर्दा तत्कालीन पञ्चायत सरकारले उनलाई जागिरबाट निकालिदिएको थियो । त्यतिबेला उनले सोही विद्यालयमा १८ महिनासम्म निशुल्क पढाए पनि ।
राजनीतिक जीवनको ४ दशकसम्म लाभको पदमा नपुगेका उनी २०४५ देखि पूर्णकालीन कार्यकर्ता भएका थिए । अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै २०४८ सालमा नेकपा मशालको म्याग्दी जिल्ला सेक्रेटरी, २०५० मा नेकपा एकता केन्द्रको पर्वत, वागलुङ्, स्याङ्जा, ईन्चार्ज र सेक्रेटरी तथा ०५१ मा पर्वतको पार्टी ईन्चार्ज भएर काम गरे । २०५२ सालमा नेपालमा जनयुद्ध शुरु हुँदा माओबादी छिरेर जनयुद्धमा सहभागी भएका अधिकारी ०५७ देखि ०५९ सम्म कास्की जिल्ललाको सेक्रेटरी, ०५९ देखि ०६० सम्म स्याङजा जिल्ला ईन्चार्ज, त्यसपछि २०६२ सम्म मगरात राज्य सेक्रेटरी, ०६५ देखि माओवादी पर्वत इन्चार्ज, ०६८ देखि माओवादी केन्द्रीय सदस्य भएका थिए । ०७३ देखि उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्यका रुपमा कार्यरत छन् । अधिकारी २०७० को दोश्रो संविधानसभा चुनावमा काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसँग पराजित भएका थिए ।