फुजेल हत्या काण्ड–छविलाल पौडेलसहित १२ जनाले पाए सफाइ

काठमाण्डौं, भदौ २५ ।
आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो ।

अदालतले माओवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा छविलाल पौडेलले असार २४ गते अदालतमा आत्मसमर्पण गरेका थिए । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।

स्रोतका अनुसार थुनामा रहेका छविलाल पौडेल निर्दोष ठहरिएपछि रिहाईको खुसीयालीमा भोलि बिहान ७ बजे र्याली निकाल्ने कार्यक्रम तय भएको बताइएको छ । २०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो ।

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी थिइन् ।