पोखराको लेकसाईडमा कसरी भयो सचिनको हत्या ? घटना विवरण पढ्नुस्

पोखरा, माघ २९ ।
पोखराको लेकसाइडमा १४ बर्षिय सचिन सिंजालीको हत्याका आरोपीलाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको छ । प्रहरीले घटना भएको ७ घण्टामा नै अभियुक्तिलाई पक्राउ गरेको हो । प्रहरीले पर्वतका बेनी काले भनिने २१ बर्षिय कुमार गर्बुजालाई पक्राउ गरि सार्वजनीक गरेको हो ।

मंगलबार विहान साढे २ बजे प्रहरीमा खवर पुगेपछि बैदाम प्रहरी प्रमुख नवीन कार्कीको नेतृत्वमा खटिएको टोलिले घटनास्थलको अनुसन्धान सुरु गरेको थियो । त्यसपछि अनुन्धान गर्दै जाँदा हत्यारा पक्राउ परेका हुन् ।

यस्तो छ घटना विवरण

सोमबार दिउँसो ४ बजेतिर लेकसाईडमा बेनी काले भनिने पर्वतका २१ बर्षिय कुमार गर्बुजा, मोटे भनिने सुसान्त परियार, डल्ली भनिने अन्दाजी वर्ष १४/१५ की सुनिता गुरुङ रक्सी पिएर बसेका थिए । सोही समयमा मृतक गोरे भनिने सचिन सिंजाली आई उनीहरु संग रक्सी पिएको थियो । साढे ४ बजेतिर सेन्टरपोईन्ट भित्र मृतक सचिन, कुमार र सुनिता गुरुङले १ सय रुपैयाँको छ्याङ पिए । छ्याङ खाईसकेपछि ५ बजेपछि ७ बजेसम्म सेन्टरपोईण्टमै माग्न बसेका थिए ।

७ देखि साढे ७ बजेसम्म क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसंग भेटेर हिडडुल गरे । ९ बजेतिर त्यहाँबाट निस्केर पुनः मृतक सचिन, कुमार, सुनिता, सुसान्त र सुकदेव पहिलेकै ठाउँमा पुगेर डेनड्राईट सुँग्दै बसे । सोही क्रममा सुनितासंग सचिनको कुराकानी हुन थाल्यो । सचिनले सुनितालाई विहेको कुरा गरे । आफ्नी गर्लफ्रेण्डसँग सचिनले विहेको कुरा गरेको सुनेपछि काले रिसले चुर भए ।

डल्ली भनिने सुनिता साढे १० बजेतिर पृथ्वी चोकतिर सुत्न भनी गईन् । त्यसपछि कुमार, मृतक सचिन, सुशान्त, सुकदेव चाहीँ माग्न भनेर विजिवीमै बसे । करिव १२ बजे तिर दुईबोतल वियर र स्याउको रक्सी लिएर पुनः सुत्ने स्थान (घटनास्थल) पुगे ।

त्यही ठाउँमा बसेर सँगै पिए । रक्सी पिउँदै गर्दा कुमार र सचिनबीच पुनः केटी (सुनिता) को बिषयमा कुराकानी हुन थाल्यो । विस्तारै उनीहरु बीच विवाद बढ्यो । त्यसपछि कुमारले चक्कु निकालेर सचिनको खुट्टामा हाने । घाईते सचिनलाई पछि घोप्टो बनाएर घाँटी रेटी कुमारले नै हत्या गरे । त्यसपछि पेट र ढाडमा पनि चक्कुले हाने । सचिनको मृत्यु भएपछि कुमार फरार भए ।

सोही ठाउँमा सुतिरहेका २ जना बालक पनि कुमारसँगै भागे । त्यहाँबाट ट्याक्सी रिजर्व गरी पृथ्वी चोकमा झरे । शान्तिवन पुगेर बाटोमा चक्कु ढुंगाले छोपिवरी पृथ्वीचोक फर्किए । २ बालकलाई त्यहीँ छोडेर कुमार घटनास्थलतर्फ गए ।

त्यसपछि मृतक सचिनलाई उत्तानो बनाएर सुताए । ट्याक्सीवालालाई घटनाबारे प्रहरीलाई जानकारी गराईदिन आग्रह गरे । ट्याक्सीवालाले १०० मा फोन गरेर प्रहरीलाई खवर गरे । त्यसपछि प्रहरी पुगेर अनुसन्धान सुरु गर्यो ।

मंगलबार विहानै बेनी कालेलाई प्रहरीले लेकसाईडबाट समात्यो । त्यसपछि सुकदेवलाई बराहीघाटबाट र सुशान्तलाई न्युरोडबाट पक्राउ गर्यो । घटना बुझ्दै प्रहरीले चक्कु समेत बरामद गरेको थियो ।