पर्यटक नआएपनि सरकारलाई दालभात खान समस्या छैन, समस्या तपाईंलाई होः भट्टराई

पोखरा, भदौ १२ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पर्यटक नआउँदा सरकारलाई भन्दा बढी ब्यवसायीलाई समस्या हुने बताएका छन् । पोखरामा पर्यटन ब्यवसायीसँग कुरा गर्दै उनले धेरै पर्यटक ल्याउन ब्यवसायीले पनि भूमीका पूरा गर्नुपर्ने तर्क गरे ।

‘केहीकेही पर्यटन ब्यवसायी साथीहरुको स्टेटमेण्ट हेर्छु टेलिभिजनहरुमा । २०२० मा २० लाख पर्यटक आउन सम्भवै छैन भन्छन् । किन भन्नुप¥यो ? त्यो भन्दा तपाईं हिरो हुनुहुन्छ ? नेता बन्नुहुन्छ ?,’ उनले भने, ‘२० लाख नआएपनि सरकारको, मन्त्रीको विहान बेलुकाको दालभात त चलिहाल्छ नि । तपाईंको पो चल्दैन । अनि आफ्नै दालभात नै बन्द हुने स्टेटमेण्ट दिने ?’

उनले फेवाताल संरक्षणका लागि जनस्तरबाटै सहयोग हुनुपर्ने बताएका छन् । फेवातालको जमिन अतिक्रमण गर्नेलाई लालपुर्जा फिर्ता गर्न उनको आग्र्रह छ । तालको जग्गा मिच्ने अधिकार कसैलाई पनि नभएको भन्दै उनले तालको स्वामित्वभित्रको जग्गा हडपेर बनाईएका लालपुर्जा सरकारलाई फर्काउन आग्रह गरेका हुन् ।

‘दुईचार पैसाको लोभले फेवातालतिर ठूलाठूला विल्डिङ बनाउँदै अगाडी नबढ्नुस् । र म यही कार्यक्रमबाट भन्न चाहान्छु कि, ज–जसले सार्वजिनक जग्गा मिचेर संरचना बनाउनुभएको छ । ज–जसलाई विगतमा जेसुकै कारणले भएपनि गलत ढंगले लालपुर्जा लिएको छ, नेपाल सरकारको तर्फबाट मेरो आह्वान छ–त्यो लालपुर्जा सरकारलाई ल्याएर बुझाउनु । त्यसले काम दिने वाला छैन । त्यसलाई सरकारले मान्यता दिँदैन,’ उनले भने ।

उनले ३ महिनाभित्रै काठमाण्डौं विमानस्थल पूरै डिजिटल प्रणालीमा विकास गर्ने र नेपाल एयरलाईन्सलाई सुधारेर लैजाने प्रतिबद्धता जनाए । पोखरा अन्तराष्ट्रिय विमानस्थल चलाउन सकस पर्ने गुनासो सुनेपछि उनले फेवाताल र पोखरा जोगाए एयरपोर्टकोे चिन्ता नहुने दावी गरेका छन् । मन्त्री भट्टराईले पोखरा एयरपोर्ट र फेवातालको स्थलगत निरीक्षण गरेका थिए ।