पत्रकार मनोहर ढकालको हत्या-यसरी पक्राउ परे हत्यारा
हेटौंडा, माघ ६ ।
पुस २५ गते दिउँसो अन्दाजी ५ बजेतिर हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडाको जंगलमा एक व्यक्ति गम्भीर घाइते भएको अवस्थामा भेटिए । एक पुरुष गम्भीर घाइते भएको देखेपछि अमृत वाग्लेले प्रहरीलाई खबर गरे ‘भैरवडाँडा जंगलमा एक अधवैंशे पुरुष गम्भीर घाइते अवस्थामा छ ।’
दिउँसो ५ बजेर १३ मिनेटमा प्रहरीमा सो जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ लाग्यो । सूचना पाएको १७ मिनेटपछि अर्थात साढे ५ बजे निरीक्षक थापाको टोली घटनास्थल पुग्छ ।
प्रहरीले घटनास्थल निरीक्षण गर्छ। मुचुल्का उठाउँछ । गम्भीर घाइते भएका व्यक्ति हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका ४२ वर्षीय मनोहर ढकाल भएको पुष्टि हुन्छ । ढकाल सञ्चारकर्मी तर शिक्षक समेत हुन् । प्रहरीले तत्कालै ढकाललाई हेटौंडा अस्पताल पठाउँछ । त्यसको ५ मिनेटपछि नै डाक्टरले मृत घोषणा गर्छन् ।
तर, प्रहरीलाई अर्को ठाउँको दुखाइ बन्छ, ’हत्यारा को हो ?’ किन भयो ढकालको हत्या ?’ निर्मला पन्तको हत्यामा प्रमाण नष्ट गरेको आरोप खेपेको प्रहरीले त्यस्तो अवस्था नदोहिरीयोस् भन्दै जुनियर प्रहरीको कमाण्डमा घटनास्थल सुरक्षित राख्छ ।
भोलिपल्ट २६ गते। बिहान ७ बजे निरीक्षक थापा नेतृत्वको अनुसन्धान टोली पुन घटनास्थल पुग्छ । मुचुल्काको अनुसन्धान गर्छ । र घटनाको विश्लेषण सुरु गरिन्छ । घटनास्थलबाट मृतकको सुनको औंठी, मोबाइल र हार्डडिक्स लगिएको प्रहरीले पत्ता लगाउँछ ।
प्रहरीले अनुसन्धानमा कुकुरको प्रयोग नगरेको भन्दै बेला बेलामा आलोचनासमेत हुने गरेको छ । यसबाट मुक्त हुन र अनुसन्धानलाई थप सहज बनाउन प्रहरीले कुकुर परिचालन गर्ने निर्णय गर्छ । २६ गते साढे ८ बजे कुकुर शाखाबाट कुकुर ह्याण्डलरले कुकुर परिचालन गर्छन् ।
तालिमप्राप्त कुकुरले हत्यारा भागेको बाटाको संकेत गर्छ । अनुसन्धानमा खटिएको प्रहरीलाई कुकुरमार्फत केही क्लु फेला पर्छ । अनुसन्धान गर्ने क्रममा प्रहरीले १ सय ५० भन्दा बढीसँग सोधपुछ समेत गर्छ । तर, त्यहाँबाट पनि कुनै नयाँ तथ्य फेला पर्दैन । हत्यारा गुमनाम नै हुन्छन् । घटनास्थलमा कुनै सबुद पो छुटेको छ कि भन्दै प्रहरीले पटक पटक अनुसन्धान पनि गर्छ। त्यसबाट पनि कुनै नयाँ चिज फेला पर्दैन ।
प्रविधिमार्फत अपराधी पत्ता लगाउन प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाउँछ । प्रहरीले मृतक ढकाल लगायत सयौं जनाको मोबाइल नम्बरको अनुसन्धान गर्छ । सोही क्रममा माघ ४ गते दिउँसो साढे १ बजे मृतकको मोबाइलसहित दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरबाट प्रहरीले ३१ वर्षीय दिनेश थापा मगरलाई नियन्त्रण लिन्छ ।
मृतकको मोबाइलबाटै प्रहरी हत्यारासम्म पुग्न सफल हुन्छ । पक्राउ परेका मगरलाई निरीक्षक थापा कमाण्डको प्रहरीले केरकार गर्छ । उनले उक्त मोबाइल हेटौंडा–११ बस्ने १९ वर्षीय अनमोल पुडासैनीसँग १० हजारमा खरिद गरेको बयान दिन्छन् ।
उनले मोबाइल किन्ने बेला पुडासैनीको नागरिकताको फोटोकपीसमेत मागेर राखेका थिए । त्यसबाट प्रहरीलाई झन ठूलो प्रमाण मिल्छ । मगरको बयान र नागरिकताको प्रतिलिपिबाटै प्रहरीले अनमोललाई खोज्न सुरु गर्छ ।
४ गते दिउँसो ५ बजे हटौंडा–४ बाट प्रहरीले अनमोल पुडासैनी र उनीसँगै रहेका प्रवीण वाइबालाई पक्राउ गर्छ । हातमा सुनको औंठी पनि लगाएको, झोला बोकेको र मोटरसाइकलमा आएको भनेपछि पक्कै पनि राम्रै रकम होला भनेर हातपात गर्दा ढकालको हत्या भएको पक्राउ परेकाको बयान छ ।