निर्मलाका लागि न्याय माग्दा प्रहरीको हस्तक्षेप, राष्ट्रपति भवन अघि प्रदर्शन

काठमाण्डौं, मंसिर २० ।
निर्मलाका लागि न्याय माग्दै राष्ट्रिपति भवन अगाडि धर्ना र प्रदर्शनमा उत्रिएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो ‘निर्मलाका निम्ति न्याय’ अभियानले न्याय माग्दै राष्ट्रपतिको कार्यालयको गेटै अगाडि प्रदर्शन गरेको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि हत्यार पत्ता लाग्न सकेको छैन । हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग राख्दै सरकारलाई दबाब दिने उद्देश्यले निरन्तर रुपमा देशैभर प्रर्दशन हुँदै आइरहेको छ ।

बिहीबार राष्ट्रपति भवन अगाडि आँखामा पट्टी बाँधेर प्रदर्शन भएको हो। प्रदर्शनमा उत्रिएका तीन किशोरीसहित १२ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखेको छ ।

पक्राउ पर्नेहरुमा शृजना विश्वकर्मा, भावना राउत, सञ्जिला मगर लगायतका रहेका छन् ।