कास्कीमा फेरि प्याराग्लाईडिङ खस्यो, २ विदेशी घाइते

पोखरा, फागुन २० ।
कास्कीमा पुनः प्याराग्लाईडिङ दुर्घटना भएको छ । दुर्घटनामा दुई विदेशी नागरिक घाईते भएका छन् । दुई फरक फरक ठाउँमा दुर्घटनामा परेका प्याराग्लाइडरमध्ये माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्कीएर घाइते भएका पोल्याण्डका जानुज कारोल गम्भीर घाइते भएका छन् ।

उनलाई थप उपचारको लागि पोखराको मनिपाल अस्पताल ल्याइएको छ । अर्का विदेशी प्याराग्लाइडर भने कास्कीकै मादी गाउँपालिकाको छाचोकमा दुर्घटना परेका हुन् । ६३ वर्षिय इलगिज यागुदिन रूखमा अड्कीएका थिए । उनलाई स्थानीयले उद्धार गरिसकेका छन् ।

उनी निकै अप्ठ्यारो भीरको रुखमा अड्केको स्थानीयले बताए । दुर्घटना परेको पाइलटहरु कुन स्थानबाट उडान भरेर त्यता पुगेको भन्नेबारे कुनै जानकारी नआएको र कुन कम्पनीबाट उडेको जानकारी नभएको कास्की प्रहरीका डिएसपी रबीन्द्रमान श्रेष्ठले बताए ।

माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भीर छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ । गम्भीर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भुइँमा खसेका थिए ।

‘विजुलीको तारमा छोएर भुइँमा खसेका रहेछन् ,’ लालबहादुर गुरुङले भने, ‘विद्युतको तारमा छोएर झरेरको भएर होला एउटा हात नै जलेको छ । उनलाई गाउँलेले प्रहरीकोमा बुझाएका छन् ।’ पोखराको आकाशमा अहिले अनुमति लिएको भन्दा भिन्न ठाउँमा विभिन्न मुलुकका प्याराग्लाइडरहरुले जथाभावी उडान भर्दा दुर्घटना भइरहेको छ । आइतबार मात्रै पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रोमानियाको नागरिकको मृत्यु भएको थियो ।