विवादितलाई छानीछानी सरकारको पदक
काठमाण्डौं, असोज ३ ।
सरकारले संविधान दिवसको अवसरमा उत्कृष्ट कार्य गरेकाहरुलाई सम्मान गर्दै आएको छ । यसबर्ष पनि पदक पाउनेको नाम सार्वजनिक भैसकेको छ । सरकारले वुधबार सार्वजनिक गरेको पदक पाउनेहरुको सूचनीमा भरतपुर महानगरपालिकामा रेणु दाहाललाई जिताउन फैसला गर्नेदेखि निर्वाचन छानविन गर्नेसमेत परेका छन् ।
पदक पाउनेको सूचीमा प्रधानान्यायाधीश ओमप्रकाश मिश्र परेका छन् । प्रधानान्याधीशमा नवनियुक्त मिश्रको फैसलाले भरतपुरमा पुनः निर्वाचन भएको थियो । सरकारले मिश्रलाई सुप्रसिद्ध प्रवल जनसेवा पदकमार्फत विभूषित गर्न लागेको हो । मतपत्र च्यातिएपछि सरकारले गृहमन्त्रालयका सहसचिव गीताप्रसाद तिमल्सिनालाई छानविन टोलीको संयोजक बनाएको थियो । निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ अनुसार घटनाबारे छानविन तिमिल्सिनाको संयोजकत्वमा छानविन टोली बनाइएको थियो।
च्यातिएको मतपत्र छानविन गर्न बनेको समितिका संयोजक तिमल्सिनालाई सुप्रवल जनसेवा श्री पदकबाट विभूषित गरिने भएको छ । उनको नाम सूचीको ४६ औं नम्बरमा छ । तिमल्सिना हाल महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायाधिवक्ताका रुपमा कार्यरत छन् ।
आपूर्ती मन्त्रालयमा सहसचिवमा कार्यरत रहँदा डिलर्स एसोसिएनको पक्षमा काम गरेको आरोप लागेका दीपक सुवेदी पनि विभूषित हुने भएका छन् । आर्थिक चलखेलको आरोप लागेका सुवेदीलाई सुप्रवल जनसेवा श्रीबाट विभूषित गर्न लागिएको हो ।