मादी गाउँपालिकाका कार्यक्रम धमाधम पोखरामा

पोखरा, भदौ १७ ।
कास्कीको मादी गाउँपालिकाले महिलाहरुलाई समेट्ने गरी एउटा कार्यक्रम डिजाईन गरेको छ–उपाध्यक्षसँग महिला । महिलाहरुको समस्या बुझ्ने र समस्याको समाधान गर्नका लागि नीति निर्माण तथा कार्यक्रम तय गर्न सहज बनाउने उद्देश्यले यो कार्यक्रम गरिन्छ । सोही योजना अन्तर्गत आईतबार एउटा कार्यक्रम भयो–गाउँपालिकाका महिला पदाधिकारीहरुलाई मुलुकी देवानी र मुलुकी अपराध संहिताबारे जानकारीमुलक अनुशिक्षण ।

यो कार्यक्रम मादीमा होईन पोखराको लेकसाईडमा रहेको टुकी रिसोर्टमा गरियो । कार्यक्रममा प्रशिक्षकको खर्च गाउँपालिकाले ब्यहोर्छ । तर प्रशिक्षक जान नभ्याएको भन्दै सबैलाई पोखरा बोलाएर कार्यक्रम गर्यो गाउँपालिकाले । यसअघि गाउँपालिकाको आवधिक योजना निर्माणको कार्यक्रम पनि पोखराको अमरसिंहचोक स्थित लेकाली चुल्होमा गरिएको थियो । केही कार्यपालिका बैठक समेत पोखरामा हुने गरेको कार्यपालिकाकै सदस्यहरु बताउँछन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले चाहीँ बाटो अवरुद्ध भएकोले पोखरामा कार्यक्रम गरेको बताए । ‘कहिलेकाहीँ गाउँ जाने बाटो बन्द हुन्छ । पहिले नै तय भएका कार्यक्रम गर्नैप¥यो, उनले भने–अधिकांश कार्यक्रम चाहीँ गाउँपालिकाकै कार्यालयमा गरिएको छ ।’ तर उनले भनेजस्तो बाटो अवरुद्ध भएकोले पोखरामा कार्यक्रम गरिएको चाहीँ होईन । किनकी गाउँपालिकाले आईतबार गरेको कार्यक्रमका लागि एक साताअघि नै निम्तो बाँडेको थियो ।

गाउँपालिकाले आफ्नै खर्चमा गर्ने कार्यक्रम पनि पोखरा झरेर गर्छ । ‘गाउँपालिकाले प्रशिक्षकलाई पैसा तिर्छ । तर प्रशिक्षक जान भ्याएन भनेर गाउँलेजति पोखरा बोलाउँछ, श्रोतले भन्यो–आफ्नै कार्यालय सम्पन्न हुँदाहुँदै पोखरामा कार्यक्रम गर्दा जनताले संघीयताको उपयोग गर्न पाउँदैनन् ।’

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले पोखराका संस्थासँग सहकार्यमा गरिएका कार्यक्रम र अलि ठूला कार्यक्रम पोखरामा गरिएको बताए । ‘पोखरासँग रिलेटेड संस्थासँग सहकार्य गर्दा र ठूला कार्यक्रम गर्दा पोखरा नै आउनुपर्छ । गाउँमा बाटो पनि राम्रो छैन, उनले भने–गाउँपालिकाको बारेमा निर्णय गर्ने बैठक गाउँमै हुन्छ । कहिलेकाहीँ अरु कार्यक्रम हुँदा कार्यपालिका सदस्य सबै उपस्थित भएको बेला विशेष बैठकहरु पोखरामा गरिएको हो ।’ धेरै बैठक बोलाउँदा खर्च बढी हुने भएकोले एउटै कार्यक्रमलाई उपयोग गरेको उनी बताउँछन् ।

गाउँपालिकामा सुविधासम्पन्न सभाहल निर्माण गरिएको छ । तर सामान्य कार्यक्रम गर्दा पनि पोखरा झर्नु सान्दर्भिक नहुने नेकपातर्फकै वडाध्यक्षहरु सुनाउँछन् । गाउँपालिकाका दर्जनभन्दा बढी कार्यक्रम पोखरामा भएका छन् ।