माछापुच्छ्रे हिमाल आरोहण खुलाउने तयारी

पोखरा, फागुन २१ ।
कास्कीको माछापुच्छ्रे गाउँ पालिकामा रहेको माछापुच्छ्रे हिमाल (६ हजार ९ सय ९३ मिटर) को आरोहण खोलिने भएको छ । गुरुङ समुदायले देवता मानेर आरोहणमा रोक लगाएपछि अनुमति दिन बन्द गरेको माछापुच्छ्रेको आरोहण फेरि पर्यटन विभागसँग सहकार्य गरी खोलिने भएको हो ।
उक्त हिमाल आरोहण खोल्न माछापुच्छ्रे गाउँपालिकाले पहल थालेको आजको अन्नपुर्ण पोष्टमा छेटु शेर्पाले समाचार लेखेका छन् । गाउँपालिका अन्तर्गत पर्ने हिमाललाई यहाँका स्थानीय गुरुङ, मगर जातिले परापूर्वकालदेखि भगवान शिवको पवित्र स्थान र प्रतीक मानेर श्रद्धा गर्ने गरेको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।
अधिकांश गुरुङ समुदायका पुर्खाले देवता मानेर तीन दशकअघि विदेशीलाई आरोहण गर्न रोक लगाएपछि माछापुच्छ्रेमा सरकारले आरोहण अनुमति दिन रोकेको थियो । समय अनुसार परम्परा पनि परिवर्तन भएकाले पर्यटन प्रवद्र्धन गर्न आरोहण खुलाउने तयारीमा जुटेको उनको भनाइ छ । गाउँपालिकाले माछापुच्छ्रेमा आरोहण खोल्नुअघि नै फोहोर व्यवस्थापनमा चुनौती थपिने भन्दै कार्ययोजना निर्माण गरेको जनायो ।
पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले माछापुच्छ्रेमा आरोहण अनुमति लामो समयदेखि रोकिएको बताए । अनुमति किन बन्द गरिएको प्रष्ट नभएकाले यसको अर्थ खोज्ने र समय सान्दर्भिक हिमाललाई आरोहण खुला गर्न आफू लागि पर्ने उनले बताए । माछापुच्छ्रेलगायत ८६ हिमालको आरोहण अझै पनि हुन सकेको छैन । सरकारले ४ सय १४ हिमाल आरोहणका खुला गरेको छ ।
पुराना प्रचलन तोडेर स्थानीय सरकारसँगको समन्वयमा हिमाल आरोहण गर्नु उपयुक्त हुने विभागको भनाइ छ । समयअनुसार उपयुक्त कारण दिएर अनुमति खोल्ने विभागले जनाएको छ । विश्वकै सुन्दरमध्ये माछापुच्छ्रे सातौंमा पर्छ । अनुमति दिए विश्वका प्रख्यात आरोहीहरू माछापुच्छ्रे आरोहणमा आउन इच्छुक भएको भन्दै प्राकृतिक सम्पदामा रोक लगाएर होइन उपयोग गरेर संरक्षण गर्नुपर्ने ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पाले बताए । यसको आरोहण अनुमति खुला गरे आरोहीको घुँइचो लाग्ने र देशले ठूलो आम्दानी गर्ने उनले बताए ।
विश्वका सुन्दर हिमालमा स्विट्जरल्यान्डको द मटेरहोर्न, अमेरिकाको अलास्कास्थित डेनाली, आइसल्यान्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर र माछापुच्छ्रे पर्छन् ।
तमु भाषामा माछापुच्छ्रे हिमाललाई ‘कतासुँ क्लिको’ भनेर चिनिन्छ । यसलाई स्थानीयले भगवान मानेर यहाँका बुढापाकाले आरोहण गर्न नदिएको स्थानीय रासबहादुर मगरले बताए । यो संस्कार तोडेर हिमालको सौन्दर्य र महत्वको उपयोग गर्ने पक्षमा लागेको माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष समबहादुर गुरुङले बताए । यो हिमाल अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने भएकाले पर्यटकका लागि उत्कृष्ट ट्रेकिङ गन्तव्यमा समेत पर्छ ।
पत्रकार छेटु शेर्पाले अन्नपूर्ण पोष्टका लागि खवर लेखेका हुन् ।