भारतीय प्रधानमन्त्री मोदी जन्ती बनेर जनकपुर आउँदै
काठमाण्डौं, असोज २२ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् । नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् । प्रधानमन्त्री मोदी रेलको उद्घाटन सहित जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने भारतीय दुतावासले जनाएको छ । भारतबाट उनी बराती (जन्ती) भएर आउने भएका छन् ।
विवाहपञ्चमीको दिन भारतबाट थुप्रै साधुहरु जन्तीको रुपमा विगतदेखि नै जनकपुर आउने गरेका छन् । यसपटक ती साधुहरुका साथमा प्रधानमन्त्री मोदी पनि आउने भएका छन् । दिल्लीदेखि जनकपुरसम्म आउँदा बाटोमा उनले नौ ठाउँमा सभा गर्ने तयारी रहेको भारतीय जनता पार्टीका एक नेताले बताए ।
उनले भने, ‘कहाँ–कहाँ सभा गर्ने त्यसको रुट र ठाउँ तय भएको छैन तर जनकपुरसम्म जानका लागि ठाउँ–ठाउँमा कार्यक्रम गर्दै जाने तयारी भइरहेको छ ।’ भारतमा सन् २०१९ मा हुने निर्वाचनलाई लक्षित गर्दै जनकपुरको विवाहपञ्चमीमा भाग लिन लाखौं भारतीय (जन्ती) का साथमा प्रधानमन्त्री मोदी सहभागी हुने र सोही क्रममा ठाउँ–ठाउँमा जन्तीसहित कार्यक्रम गर्ने तयारी भइरहेको श्रोतको भनाई छ ।
त्रेता यूगमा भारतको अयोध्याबाट राम आएर जनकपुरमा सितासँग विहे गरेका थिए । त्रेता यूगको सोही दिनलाई विवाहपञ्चमीको रुपमा मनाउने गरिन्छ । सोही प्राचिन पौराणिक विवाहको सम्झनास्वरूप भारतबाट जन्ती लिएर आउने र राम–सीताको प्रतिमामा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तीहरूमा विशेषतः साधुहरू हुने गर्दछन् ।
प्रदेश २ को सरकारले यसपटकको विवाहपञ्चमीलाई सार्कस्तरीय ढंगबाट मनाउने तयारी गरेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विवाहपञ्मीको अवसरमा जनकपुरमा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने बताए ।-Ratopati.com