भागवण्डा नमिलेपछि गाउँपालिका महासंघको अधिवेशन स्थगीत

पोखरा, कार्तिक १७ ।
शुक्रवारदेखि कास्कीको ताङतिङमा भएको गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगीत भएको छ । नेतृत्वमा नेकपा र काँग्रेसले अडान नछोडेपछि अधिवेशन नै स्थगीत गरिएको हो । ठूलो पार्टीले अध्यक्ष र उपाध्यक्ष लिने विधानमा ब्यवस्था भएको भन्दै काँग्रेसले प्रदेशभित्र आँफू ठूलो पार्टी भएकोले नेतृत्व दावी गरिरहेको छ । नेकपाले पनि पार्टी एकीकरणपछि आफ्नो पार्टी पहिलो भएको भन्दै नेतृत्वमा दावी गरेको हो ।

दुवै पार्टीको आ–आफ्नै अडानले नेतृत्व चयन हुन नसकेको सहभागीहरुले बताएका छन् । गण्डकी प्रदेशका ५८ गाउँपालिकामध्ये २९ गाउँपालिकाको अध्यक्षमा काँग्रेसले जितेको थियो । तर उपाध्यक्षमा कम सीट भएका कारण नेकपा भन्दा काँग्रेस सानो छ । अध्यक्ष र उपाध्यक्षहरु मध्ये काँग्रेसको ५४, साविक एमालेको ४६, माओवादीको ११, जनमोर्चा ३ र स्वतन्त्र २ गरि १ सय १६ जना छन् ।

दुई पार्टी एकीकरणपछि नेकपाको अध्यक्ष र उपाध्यक्ष ५७ जना हुन्छन् । यसबाहेक अध्यक्ष र उपाध्यक्षले ल्याएका एकजना प्रतिनिधिले पनि मतदानमा भाग लिन पाउँछन् । अधिवेशनमा १ सय ७४ जना मतदाता हुनेछन् । ‘गण्डकीमा काँग्रेसलाई अध्यक्ष र उपाध्यक्ष सहित ७ सीट दिने केन्द्रिय सहमति हो । हामीले त्यही माग्दा किचलो गर्नुभयो, तदर्थ समितिका अध्यक्ष तथा भीमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले भने–वहाँहरुले सम्झौता नै तोडेपछि हामी सहमतिमा नआएका हौं । अव बार्ताबाट समस्या सुल्झिन्छ ।’

नेकपाले पनि दुई पार्टी एकीकरणपछि काँग्रेसलाई नेतृत्व दिन नसक्ने बताएको छ । ‘काँग्रेसलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सहमति पहिलेको हो । पार्टी एकीकरण भएपछि नेकपाको बहुमत छ, हालका सहसंयोजक तथा महाशिला गाउँपालिका अध्यक्ष राजु पौडेलले भने–बहुमत हाम्रो भएपछि नेतृत्व छोड्ने कुरा हुँदैन । विधान संशोधन गर्नुपर्छ ।’

२०७४ असार १० गतेको पोखरा भेलाले गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश गठन गरेको हो । त्यतिबेला संयोजकमा काँग्रेस र सहसंयोजकमा एमालेलाई चयन गरिएको थियो । १५ सदस्यीय कार्यसमितिमा ७ सदस्य काँग्रेसको, ६ सदस्य एमालेको र २ सदस्य माओवादी केन्द्रका थिए । दुई तिहाईको बलमा जबरजस्ती गर्न खोजे अर्कै महासंघ गठन गर्ने काँग्रेसतर्फका गाउँपालिका अध्यक्षले बताए । ‘सबैतिर दुई तिहाई देखाएर सहमति तोड्न पाईंदैन । सहमति तोड्ने हो भने हामी अर्कै महासंघ गठन गर्छौं, ति नेताले भने–साथीहरुलाई सहमतिमा आउनुस् भन्ने हो । मान्नुभएन भने हामी हाम्रै बाटोमा लाग्छौं ।’

नेकपातर्फका गाउँपालिका अध्यक्षले चाहीँ सरकारमा आफुँहरु भएकोले सरकारसँग लविङ गर्न सजिलो हुने बताए । ‘हामीलाई नेतृत्वको लोभ होईन । अहिले सरकारमा हाम्रो पार्टी छ । त्यसैले समस्या पर्दा लविङ गर्न सजिलो होला भनेको हो, ति नेताले भने–तर साथीहरुले कुरा बुझ्नुभएन । सहमति हुन्छ । सहमति मै नेतृत्व चयन गर्ने हो ।’ नेतृत्वमा किचकिच भएपछि यसअघिको कार्यसूचीमा रहेको ताङतिङ घोषणापत्र पनि जारी भएन । कास्कीको मादी गाउँपालिकाको ब्यवस्थापनमा ताङतिङमा कार्यक्रम गरिएको हो ।