बालयौन दुराचार आरोपमा फ्रान्सेली नागरिक पक्राउ-नेपाल आएपछि बालकसँगै बास, अप्राकृतिक मैथुन
काठमाण्डौं, बैशाख १ ।
पछिल्लो समय विदेशी यौन दुराचारीको निशानामा नेपाली बालबालिका पर्दै गएका छन् । विभिन्न बाहानामा नेपाल भित्रिने र प्रलोभन देखाएर यौन दुराचार गर्ने क्रम बढ्दै गएको छ । गत शुक्रबारमात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक फ्रान्सेली नागरिकलाई यौन दुराचार गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
यसअघि पनि दर्जनौं विदेशी नागरिक यौन दुराचारको आरोपमा पक्राउ परिसकेका छन् । विदेशी नागरिकले बालबालिकालाई ललाई फकाई यौन दुराचार गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १३ डिडी ८०५१७ नम्बरका राहदानीबाहक ६९ वर्षीय फ्रान्सेली नागरिकलाई बालयौन दुराचार गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
गत शुक्रबार बिहान ४ बजे काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित भगवतीस्थानमा रहेको एक होटलको पाँचौं तलाबाट सिआइबीले ६९ वर्षीय फ्रान्सेली नागरिक जार्जेस इगोर सिमास्कीलाई पक्राउ गरेको हो । जार्जेस र एक नेपाली बालक आपत्तिजनक अवस्थामा थिए । प्रहरीले बालकलाई उद्दार गरेर स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको थियो भने जार्जेसलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।
उनीविरुद्ध बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको सिआइबीले जनाएको छ । उनको अपराध पुष्टि भएमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार कारबाही हुन्छ । दफा २२५ मा ‘बाल यौन दुराचार गर्न, गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बालयौन दुराचार गरेको मानिने,’उल्लेख गरिएको छ ।
पक्राउ परेका जार्जेसले फ्रान्समा समेत बाल यौन दुराचार गरेको अनुसन्धानबाट खुल्न आएको छ । फ्रान्समा बालबालिकालाई विभिन्न प्रलोभन देखाएर उनले आजभन्दा १९ वर्षअघि नै यौन दुराचार गरेका थिए । १९ वर्षअघि सन् २००० मा पनि फ्रान्स प्रहरीले उनलाई यौन दुराचार गरिरहेको बेला रंगेहात पक्राउ गरेको थियो ।
फ्रान्समा बाल यौन दुराचारमा सजाय काटिसकेपछि भने उनले नेपाललाई गन्तव्य बनाएर बाल यौन दुराचार गर्ने गरेको पाइएको छ । उनी नेपालमा ७ पटकसम्म आएको अनुसन्धानबाट खुलेको छ । पहिलो पटक सन् २०१४ मे १० मा नेपाल प्रवेश गरेका जार्जेस त्यसपछि पटकपटक नेपाल आउँदै बालयौन दुराचार गर्ने गरेको सिआइबीले जनाएको छ ।