फुट्यो विवेकशील साझा पार्टी, उज्वलले गरे नयाँ पार्टी दर्ता
काठमाण्डौं, पुस २७ ।
विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका संयोजक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन् । उनको टीममा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल पनि छन् ।
पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।
तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।
‘हामीले भन्दै आएको सुसंस्कृत र वैकल्पिक राजनीति हुँदैन भन्ने लाग्यो’ एक नेताले भने, ‘यसरी सँगै बस्नुभन्दा अलग अलग रुपमा बस्नु बेस भन्ने भयो ।’ विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूँताउन लागेका हुन् ।