प्रधानमन्त्रीका लागि मर्मत गरिएको सडक २४ घण्टा नबित्दै खाल्डा पर्यो

काठमाण्डौं, असार २६ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनमा त्रिभुवन विश्वविद्यालयले मर्मत गरेको सडक २४ घण्टा नबित्दै खाल्डा परेको छ । त्रिविको ६०औं वार्षिकोत्सव समारोह बुधबार टियुभित्र भएको थियो। सो समारोहमा भाग लिन कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली विश्वविद्यालय आएका थिए । कूलपति एवं प्रधानमन्त्री आउने भएपछि विश्वविद्यालयले रातारात सडक मर्मत गरेको थियो ।

सार्वजनिक सवारीसाधन निषेध रहने विश्वविद्यालय गेटदेखि कीर्तिपुर नयाँ बजारसम्मको यो सडक कीर्तिपुर ओहोर–दोहोर गर्ने सर्वसाधारण तथा विद्यार्थीले प्रयोग गर्छन् । निजी नम्बर प्लेटका हल्का गाडी र मोटरसाइकल चल्छन् । यो सडकको पश्चिम लेन केही महिनाअघि मेलम्ची खानेपानी आयोजनाले खनेर भत्काएपछि मर्मत गरेको थियो । पूर्वपट्टि खाल्डाखुल्डी थिए ।

सडकको अवस्थाका कारण भीभीआइपी सवारी अप्ठ्यारोमा पर्ने देखिएपछि विश्वविद्यालयले हतार–हतार सडक मर्मत गरेको हो । ‘प्रधानमन्त्री टियुमै आउने निश्चित भएपछि मात्र सडक मर्मतको काम अघि बढाउने काम भएको हो। आइतबारदेखि मंगलबार रातिसम्म सडक मर्मत गरिएको हो’, त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय स्रोतले भन्यो, ‘हतारमा गर्दा काम गडबड भएछ। वर्षायामको काम भएकाले पनि होला कालोपत्रे उक्किएको छ ।’

मंगलबार रातिसम्म मर्मत गरिएको सडकमा बुधबार बिहान प्रधानमन्त्री ओलीको गाडी गुडेको थियो । त्रिविको ६० औं वार्षिकोत्सवमा सहभागी भएर प्रधानमन्त्री ओली बालुवाटार पुगेको २४ घन्टा नबित्दै सडकमा खाल्डाखुल्डी परेका हुन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले सो सडक विश्वविद्यालयकै भएको जनाए। मर्मतको विषयमा भने उनले अनभिज्ञता प्रकट गरे। ‘टियु गेटदेखि भित्रपट्टिको मुख्य सडक विश्वविद्यालयकै हो’, नेपालखबरसँग कुराकानी गर्दै उनले भने, ‘सडक मर्मत भएको मलाई थाहा छैन । मेलम्ची खानेपानी आयोजनाले गर्यो होला ।’

नेपालखवरबाट