प्रधानमन्त्री ओली हिटलरको बाटोमाः देउवा

पोखरा, साउन २१ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली हिटलरकोे बाटोमा लागेको बताएका छन् । ‘हिटलरले संसद्बाट कानुन पास गरेर सत्ता कब्जा गरेका हुन् । दुई तिहाई दम्भमा ओली सरकारले पनि त्यसै गरिरहेको छ,’ उनी भन्छन्, ‘तर हामी कुनैपनि हालतमा त्यसो हुन दिँदैनौं ।’ नेपाल पत्रकार महासंघले सञ्चालन गरेको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारिता, मानवअधिकार र सेनालाई समेत आफ्नै नियन्त्रणमा लिएर सरकार हिटलर पथमा लागेको बताए ।

प्रजातन्त्र र स्वतन्त्र पत्रकारिता विना देशको समृद्धी सम्भव नहुने भन्दै उनले मानिसको बोल्न पाउने र लेख्न पाउने अधिकारको सुनिश्चित हुनुपर्नेमा जोड दिए । सरकारले अभिब्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने प्रयास गरेको आरोप सहित देउवाले सरकारको कडा आलोचना गरे । उनी भन्छन्, ‘प्रजातन्त्रको खिलापमा ल्याउन खोजिएको विधेयक कुनै पनि हालतमा पास हुन दिँदैनौ । उखेलेर छोडिन्छ ।’

उनले जनताको अधिकार सुनिश्चित गर्नका लागि काँग्रेस आन्दोलनमा जाने उनको चेतावनी छ । ‘हामी कुर्सी भाँच्दैनौ । रेलिङ भत्काउन जाँदैनौ । आगो लगाउने काम गर्दैनौं,’ उनले थपे, ‘शान्तिपूर्ण जुलुस हुन्छ । जनतालाई दुख नदिई जनताको व्यापक सहभागितामा आन्दोलन हुनेछ ।’

प्रजातन्त्रका सेनानी स्व.दयाशंकर पालिखेको स्मृतिमा उनको परिवारले स्थापना गरेको पुरस्कार यो बर्ष पत्रकार रवीन्द्रनाथ बास्तोलालाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५५ हजार ५ सय ५५ नगद र सम्मानपत्र छ । पोखराको हिमदुत पत्रिकाका सम्पादक उनी २३ बर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशिल छन । प्राप्त पुरस्कारमा केही रकम थपेर कास्की महासंघले सञ्चालन गर्ने गरी बाबुआमाको नाममा विश्वरेवती शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरे । उनले स्थापना गरेको अक्षयकोषबाट हरेक बर्ष २५ हजार नगद सहित एकजना पत्रकार पुरस्कृत हुनेछन् ।