प्रदेशसभाको पहिलो बैठक, संघीयताको विरोधदेखि समृद्धीको बाचासम्म

प्रकाश ढकाल
पोखरा माघ २३ ।
प्रदेश ४ को पहिलो बैठकमा बोल्ने सांसदहरुको साझा शब्द बन्यो ‘समृद्धी’ । कुनै पनि सांसदले समृद्धी शब्द छुटाएनन् । पुर्व सहमति अनुसार नै ११ सांसदले आफ्ना धारणा राखे । तर समय भने सहमति अनुसार पालना भएन । काँग्रेस बाहेकका सबै सांसदले तोकिएभन्दा बढी समय लिएर आफ्ना भनाई राखे । काँग्रेसका सांसदहरुले लिखित मन्तब्य राखेका थिए भने अरु सांसदहरुले मौखिक रुपमै सम्बोधन गरे । सबैले प्रदेशलाई श्रोतको उच्चतम उपयोग मार्फत नमूना बनाउने बाचा गरेका छन् । जलस्रोत, पर्यटन, कृषि, उद्योगको उच्चतम विकास र अधिक प्रयोगलाई प्रदेश ४ को विकासे खाकाका रुपमा प्रश्तुत गरे । एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले श्रोतको पहिचान गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताए । ५ बर्षभित्र पूर्ण साक्षर र कम गरिव भएको प्रदेशको रुपमा स्थापित गर्ने उनको प्रतिबद्धता छ । ‘जनतालाई विकास चाहिएको छ, हामी जनताका प्रतिनिधी हौं, उनले भने–सभामा कोही पनि पक्ष र प्रतिपक्ष छैन । साझा एजेण्डा तय गरेर हाम्रो प्रदेश नमुना र समृद्ध बनाउने संकल्प गरौं ।’ अर्का सांसद किरण गुरुङले प्रदेश ४ बाटै समृद्धीको अभियान थालनी हुने उल्लेख गरे । ‘नेपालको एकीकरण यही प्रदेशबाट भएको हो । भाषिक र सांस्कृतिक एकताको सुरुवात यहीँबाट भयो, उनले भने–अव जनताको समृद्ध हुने चाहना पनि हामी पूरा गर्छौं ।’ उनले प्रदेशमा सहभागी कुनैपनि दल प्रतिश्पर्धी नभएको भन्दै प्रष्ट योजना सहित सुशासन सहितको प्रदेश बनाउने काममा एकीकृत भएर लाग्ने विश्वास ब्यक्त गरे ।
काँग्रेसका सांसद कृष्णचन्द्र नेपालीले प्रदेश ४ लाई रोड र सञ्चारको कनेक्टीभिटीमा जोड दिएका छन् । भारत र चीन जोड्ने प्रश्तावित दक्षिण एसिया कोरिडोर, पुर्वपश्चिम रेलमार्ग, पोखरा विमानस्थल लगायतका योजनाहरु जतिसक्दो छिटो सम्पन्न गर्नेतर्फ दलहरु केन्द्रिकृत हुनुपर्ने उनको भनाई छ । ‘पर्यटन र जलश्रोतको विकास र प्रयोग मात्रै गर्न सके हाम्रो प्रदेश समृद्ध बन्छ, उनी भन्छन्–पूराना थुप्रै खाकाहरु छन् त्यसलाई समयअनुसार संशोधन गरेर कार्यान्वयनको चरणमा लैजानुपर्छ ।’ माओबादीका सांसद हरि चुमानले जनादेशको पालना गरेर वाम गठबन्धनले स्थिर सरकार बनाउने बताए । उनले प्रदेशसभा र स्थानीय तहको अधिकार खोस्ने प्रयत्न भइरहेको भन्दै त्यसविरुद्ध एक भएर लड्ने चेतावनी दिए । नयाँ शक्तिका हरिशरण आचार्यले नेपालमा प्रतिबद्धता भन्दा बढी कार्यान्वयनको खाँचो रहेको बताए । ‘योजना सुनाउनेको कमी नेपालमा छैन । धेरै देशका योजना सुनाएर अहिलेसम्मको राजनीति चलेको छ, उनी भन्छन्–दक्षिण, उत्तर, पुर्व, पश्चिम फर्केको दर्शन हामीलाई चाहिँदैन । रोकिएका राष्ट्रिय गौरवका योजनाको गाँठो फुकाएर काम थालौं ।’ बैठकमा एमालेकी सांसद सिर्जना शर्मा, काँग्रेसका दोवाटे विश्वकर्मा, ललितकला गुरुङ, माओबादीका नेत्रनाथ अधिकारी र गायत्री गुरुङले बोलेका थिए । सांसदहरुले संघीयताको व्यवहारिक कार्यान्वयन थालिएको भन्दै जनताका बीचमा गरिएका प्रतिबद्धता पूरा गर्ने दावी गरे । स्थिर सरकार, सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै ४ नम्बर प्रदेशलाई समृद्ध बनाउने उनीहरुको बाचा छ ।
सोमबारको बैठकमा सांसदहरु तोकिएकै पोसाकमा संसद भवन छिरेका थिए । शनिबार बसेको सर्वदलीय बैठमा पुरुषका लागि दौरासुरुवाल कोट, सुट पाइन्ट वा जातीय पहिचान झल्किने पोशाक निर्धारण गरिएको थियो भने महिलाका लागि साडी चोलो, सुट पाइन्ट वा जातीय पहिचान झल्किने पोशाक निर्धारण गरिएको थियो । बैठकमा ५९ सांसदमात्रै उपस्थित भए । सर्वोच्चबाट कर्तव्य ज्यान उद्योग मुद्धामा दोषी ठहर भएपछि फरार मनाङबाट निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ पहिलो बैठकमा पनि सहभागी भएनन् । सवा घण्टाका लागि बोलाईएको बैठक झण्डै दुई घण्टा चल्यो । सांसदहरुले बढी समय लिएर बोलेपछि बैठकको समय लम्विएको सचिवालयले जनाएको छ ।