पोखराका सरकारी कार्यालयमै भेटियो एउटै नम्बरका दुई गाडी !

पोखरा, फागुन ४ ।
पोखरामा एउटै नम्बर प्लेट बोकेका २ वटा सरकारी सवारी साधन सञ्चालनमा रहेको पाइएको छ । पोखरा महानगरपालिका र बिद्युत प्राधिकरण दुबै सरकारी कार्यालयसँग ग १ ग १२३ नम्बरका २ वटा सवारी साधन छन् ।

पोखरा महानगरपालिकासँग रहेको फोहोर संकलन गर्ने यो गाडीको नम्बर ग १ ग १२३ छ । यातायात व्यवस्था कार्यालय गण्डकीमा यो गाडी २०६१ सालमा असोज २६ गते दर्ता भएका देखीन्छ । यो गाडीको बिल बुक पनि एउटै छ ।

यस्तै बिद्युत प्राधिकरण पोखराको कार्यालयमा रहेको यो क्रेनको नम्बर पनि ग १ ग १२३ नै रहेको छ । यो गाडी यातायात व्यवस्था कार्यालयको ढ्डामा दर्ताभएको देखिदैन । तर सरकारी क्रेन ट्रक शिर्षकमा २०५७ बैशाख २ गते राजश्व तिर्दै आएको बिल बुकमा देखिन्छ ।

दुबै सरकारी कार्यालयले ग १ ग १२३ नम्बरका सवारी नियमसँगत रुपमा कार्यालय प्रयोग गर्दै आएको दाबी गर्छन् । पोखरा महानरपालिकाका कार्याकारी अधिकृत शेषनारयाण पौडेलले यो सवारी महानगरको भएकाले कसरी जुध्न गयो भन्ने जानकारी नभएको बताउँछन् ।

यस्तै पोखरा स्थित बिद्युत प्राधिकरणका प्रमुख सुरेन्द्रकुमार शर्मा शाहले समेत ग १ ग १२३ नम्बरको गाडी प्राधिकरण भएको र नविकरण समेत भएको दाबी गर्छन् । यातायात व्यवस्था कार्यालयलका अनुसार पोखरा महानगरले बर्षौदेखि सवारी दर्ता नविकरण नगरी लाखौँ रुपैयाँ राजश्व तिरेको छैन ।

तर यातायात व्यवस्था कार्यालयमा महानगरको नाममा रहेको ग १ ग १२३ नम्बरको सवारीको राजश्व भने बिद्युत प्राकिरणले तिरेर नविकरण गरको छ । अब ग १ ग १२३ नम्बर कुन सरकारी कार्यालयको हो प्रश्न उठेको छ ।