पृथ्वी प्रदेश ४ को मुख्यमन्त्री पक्का
प्रकाश ढकाल
पोखरा, माघ २९ ।
एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । आईतबार एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनले मुख्यमन्त्रीको सबै दौड पूरा गरेका छन् । बाम गठबन्धन बीचमा भएको भागबण्डामा एमालेले मुख्यमन्त्री पाउने सहमतिपछि दुई सिनियर नेताहरु संसदीय दलको नेतृत्व लिन लविङ गरिरहेका थिए । मुख्यमन्त्रीका दावेदार एमाले चार नम्बर प्रदेश संयोजक किरण गुरुङले संसदीय दलको नेता बन्ने दौडबाट हटेपछि पृथ्वी सर्वसम्मत संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । एमालेले आईतबारका लागि संसदीय दलको नेता चुन्न कार्यतालिका सहितको चुनावी कार्यक्रम घोषणा गरेको थियो । मध्यान्न सवा १२ बजेसम्म उम्मेदवारी मनोनयन गर्न समय दिईएको भएपनि पृथ्वीसुब्बाले मात्रै उम्मेदवारी दर्ता गराए । किरण भने सहमतिका लागि पार्टीका नेताहरुसँग छलफलमै ब्यस्त थिए । बार्तालाई हेरेर निर्वाचन कमिटीले १ घण्टा समय थपिदियो । सवा १ बजे किरण निर्वाचन स्थल रहेको एमाले जिल्ला पार्टी कार्यालय छिरे । तर उनको हातमा मनोनयन पत्र थिएन । उनकै अघिअघि थिए, पृथ्वीसुब्बा गुरुङ । पहिले नै सहमति गरेर छिरेका दुई नेताहरुले प्रदेशका सबै सांसदलाई कोठाभित्र बोलाए । केहीबेर औपचारिक मिटिङ चल्यो र आधा घण्टा पनि नवित्दै पृथ्वीलाई नेता चुनेर किरणले भने–‘म हुनु र पृथ्वीसुब्बा हुनु एउटै हो, केही फरक छैन । वहाँ योग्य र सक्षम नेता हुनुहुन्छ ।’
किरणले पार्टीमा गुटबन्दीको अन्त्य र बृहत पार्टी एकताको सन्देश दिन निर्विरोध प्रणाली अपनाएको प्रतिक्रिया दिए । ‘म नै हुन्छु भनेको भए सहमति हुँदैहुँदैनथ्यो । प्रदेशको अभिभावक भएकोले पनि मैले वहाँलाई समर्थन गरेको हुँ, उनी भन्छन्–ब्यक्ति केन्द्रित भएर पार्टी चल्दैन भन्ने मैले बुझेको छु । सहमतिमा एकता बलियो हुन्छ ।’ श्रोतका अनुसार पार्टीका महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसहित बसेको अनौपचारिक बैठकपछि किरणले आफ्नो दावी छाडेका हुन् । पार्टीको केन्द्रिय संगठन विभागको प्रमुखका रुपमा किरणलाई प्रश्ताव गरिएको श्रोत बताउँछ । निर्वाचित भएपछि पृथ्वीसुब्बाले भने किरणकै प्रश्तावमा आँफु संसदीय दलको नेता बनेको दावी गरेका छन् । ‘किरण कमरेडले नै मलाई संसदीय दलको नेतामा प्रश्ताव गर्नु भएको हो । वहाँको महानताले निर्विरोध हुने मौका पाएँ, उनी भन्छन्–हामी बीचमा कुनै लेनदेन भएको छैन । नेताहरुको पहलले सर्वसम्मत चुनिएँ ।’ उनले माओबादी केन्द्रसँगको एकीकृत बैठकपछि सरकार गठन र मन्त्रीमण्डल विस्तार हुने बताए । ७ मन्त्रालय रहने प्रदेश ४ मा ५ वटा एमालेले राख्ने बुझिएको छ । बाँकी एमालेको भागमा छ । तर मन्त्रालय भने बाँडिएको छैन । यो प्रदेशमा एमालेसँग २७ सीट छ भने तेश्रो शक्ति माओबादीसँग १२ सीट छ । माओबादीले सभामुख सहित २ मन्त्रालय पाउनेछ ।