पूराना रुखजति धमाधम ढाल्दै पोखरा महानगर

पोखरा, असार २४ ।
पोखरा लेखनाथ महानगरभित्रका पूराना चौतारी र रुखहरु अहिले धमाधम ढालिएको छ । सडक छेउमा रहेका सबैजसो रुखहरु फडानी भैरहेको छ । महानगरले नै पूराना रुख ढालेको हो ।

वातावरण संरक्षणका लागि ‘एकघर दुई रुख’ अभियान चलाईरहेको महानगरले सार्वजनिक ठाउँमा भएका रुख भने लगातार फडानी गरिरहेको छ । अहिले महानगरले नगरपरिषद्बाट नै यहाँका नागरिकहरुलाई रुख जोगाउन र रुख रोप्न विभिन्न कार्यक्रम सार्वजनिक गरेर अघि बढिरहेको छ ।तर महानगर क्षेत्रभित्र रहेका सबै रुखहरु उजाड हुँदै गएका छन् । पोखराको रत्नचोक, सिमलचौर लगायतका क्षेत्रमा रहेका सबै रुखहरु ठुटै बनाईएको छ । यसले पर्यावरणमा समेत असर पर्ने निश्चित छ । सडक फराकीलो बनाउने नाममा पर्यावरण र वातावरणीय सन्तुलन नै विग्रिने गरी भएका यस्ता काम गलत भएको सरोकारवाला बताउँछन् ।

महानगरको यो कदमप्रति विभिन्न नकारात्मक टिका टिप्पणीहरु भैरहेका छन् । धेरैले सामाजिक सञ्जालमा रुख ढाल्दै गरेका फोटाहरु पोष्ट गरेर यस्ता काम बन्द गर्न सुझाव दिएका छन् ।