दुग्ध विकास बोर्डमा अनपढलाई उपाध्यक्ष बनाउन लागेको भन्दै काँग्रेसको विरोध

पोखरा, साउन २१ ।
गण्डकी प्रदेश सरकारले गठन गर्न लागेको दुग्ध विकास बोर्डमा राजनीतिक भर्ती केन्द्र बनाउन लागेको भन्दै काँग्रेसको सांसदहरुले विरोध गरेका छन् । सरकारले ल्याएको दुग्ध विकास बोर्ड गठन र सञ्चालन सम्बन्धी विधेयकमा उपाध्यक्षको शैक्षिक योग्यता खुलाईएको छैन ।

विधायन समितिबाट सदनमा भएको छलफलका क्रममा काँग्रेस सांसद ओमकला चालिसेले अनुभव र शैक्षिक योग्यता स्पष्ट किटान गर्न आग्रह गरिन् । ‘उपाध्यक्षलाई १० बर्ष कृषि क्षेत्रमा काम गरेको अनुभव भनिएको छ । यो कस्तो खालको अनुभव हो ?, उनले भनिन्–घरमा बसेर साग र घिरौंला लगाउने कृषि क्षेत्र हो कि । कस्तो अनुभव हो ? यसको पनि स्पष्ट तोकिएको हुनुपर्छ । सरकारले राजनीतिक भर्ति केन्द्र बनाउने हो भनेपनि मापदण्ड अनुसार शैक्षिक योग्यता, अनुभव उल्लेख गरिनुपर्छ ।’

काँग्रेसकै दोवाटे विश्वकर्माले उपाध्यक्षको हैसियत सहायक मन्त्री सरह राख्न नहुने सुझाव दिए । नेकपाका सांसद इन्द्रलाल सापकोटाले सरकारले परिकल्पना गरेको बोर्ड कर्मचारीमुखी भएको टिप्पणी गरेका छन् । उनले दुधमा प्रदेशलाई आत्मनिर्भर र निर्यात गर्न सक्ने बस्तुको रुपमा उत्पादन बढाउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने सुझाए । जनमोर्चाकी पियारी थापाले बोर्डको फर्मेसन नमिलेको गुनासो गरिन् । उनले बोर्डलाई राजनीतिक खिचातानीको रुपमा नलैजान आग्रह गरेकी छिन् । नेकपाका दीपक चर्तीमगरले सरकारले ल्याएको प्रश्ताव सही र उपयुक्त भएको भन्दै समर्थन जनाए ।

जवाफमा कृषि मन्त्री लेखबहादुर थापाले २ बर्षभित्र प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने सरकारको घोषणा रहेको र त्यसलाई सहयोग गर्नकै लागि बोर्ड गठन गर्न लागेको बताए । उनले बोर्डले नीति निर्माणको तहमा काम गर्ने भएकोले कृषि र नीति निर्माणको तहमा अनुभवी मान्छेलाई नियुक्ति दिनुपर्ने बताएका छन् । सदनबाहिर पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले विधेयकमा नतोकिएपनि अनपढ मान्छे उपाध्यक्ष नहुने बताए । ‘सकेसम्म पिएचडी गरेकै मान्छे ल्याउँछौं भएन भने स्नातकोत्तर त्यो पनि नपाए स्नातकसम्म पढेको मान्छे आउँछन्, उनले भने–औंठाछापलाइ उपाध्यक्ष बनाउने होईन । सरकार यसमा सचेत छ ।’

बोर्डको विधेयक सोमबारको बैठकबाट पारित भएको छ । काँग्रेसको विरोधका बाबजुत बहुमतले विधेयक पास भएको हो । सत्तापक्ष दलले पूर्ण समर्थन गरेको विधेयकमा काँग्रेस बाहेकका अरु दलले पनि मौन स्विकृति दिएका थिए ।