दुखद खवर-पोखराका संगीतकर्मी श्रीमान थुलुङको स्कुटर दुर्घटनामा मृत्यु
पोखरा, चैत २८ ।
पोखरेली संगीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा ज्यान गएको छ । आफ्नै निवास पोखरा १२ शितलादेवीमा स्कुटर दुर्घटनामा निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ । बुधबार राति साढे नौ बजेतिर थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
थुलुङ आफ्नी श्रीमती सहित स्कुटरमा थिए । प्रहरीका अनुसार दुर्घटनापछि थुलुङ नहरकुलोमा परेका थिए । रातको समयमा ठूलो पानी भेलको नहरमा परेका थुलुङ साढे १० बजेतिर दुईकुलाको मुहानमा भेटिएका थिए । वडा प्रहरी कार्यालय रामबजारको टोलीले थुलुङलाई क्षेत्रीय अस्पताल पु¥यायो । तर अस्पतालले मृत घोषणा ग¥यो । थुलुङकी श्रीमती भने सकुशल छन् ।
५० वर्षका थुलुङको योगदान पोखराको संगीत क्षेत्रमा अतुलनीय रहेको संगीतकर्मी श्यामलाल श्रेष्ठ बताउँछन् । निकै नजिकको सम्बन्धमा रहेका श्रेष्ठले अकल्पनीय दुर्घटनाले स्तब्ध पारेको सुनाए । राति १० बजेतिर मात्रै थाहा भएर अस्पताल पुगेर फर्केका उनले भोलि मात्रै पोष्टमार्टम पछि अन्त्येष्टि गरिने जनाए ।
पूर्वबाट दुई दशक अघि पोखरा आएका थुलुङले पोखरामा तराना म्युजिक सेन्टर सञ्चालन गरी थुप्रै संगीतसाधकलाई जन्माइसकेका छन् । तराना संगीत साँझ लगायतका सांगीतिक गतिविधि गर्दै आएका थिए । यहाँका सांगीतिक कार्यक्रमहरुमा आफै हार्मो्नियम, तबला लिएर उनी पुग्थे ।
अन्तिम क्षणसम्म पनि उनी सांगीतिक गतिविधिमा सक्रिय थिए । दुर्घटनाको केही घण्टा अघि उनले यहाँका संगीतकर्मीसँगको सामूहिक तस्विर राखेर तराना संगीत साँझबारेमा फेसबुकमा पोष्ट गरेका थिए । केही घण्टा नबित्दै दुःखद खबर सुन्दा पत्यार नलागेको उनीहरु बताउँछन् ।