दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि सोलो उडान बन्द, दुई कम्पनी कारवाहीमा
पोखरा, फागुन २१ ।
पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरण पोखराले सोलो उडान बन्द गरेको छ । विदेशी पाइलटले तोकिएको क्षेत्र भन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै कार्यालयले मंगलबार सुचना प्रकाशन गरि उडान बन्द गरेको हो । पछिल्लो तीन दिनमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अर्को सूचना जारी नहुँदासम्म उडान बन्द गरिएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले जानकारी दिए । ‘मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ को दफा १७ को व्यवस्था अनुसार प्याराग्लाइडिङ कम्पनीले सञ्चालन प्रमाणपत्र लिन्छन्,’ उनले भने ‘पछिल्लो दश दिनमा २ सय भन्दा बढि सोलो पाइलटले अनुमती लिएका छन्, ति सबैको अनुमती रद गरेका छौं ।’ विदेशी नागरिकले गैरव्यावसायिक उडान भर्न चाहेमा ५ हजार ६ रुपैयाँ शुल्क बुझाउनुपर्छ । उनीहरुले १५ दिनलाई उडान अनुमति पाउँछन् ।
उड्न चाहने विदेशीले नेपालकै कम्पनी मार्फत आवेदन दिनुपर्छ । कम्पनी मार्फत उडान अनुमति लिएका सोलो पाइलटले तोकिएको क्षेत्र र सर्त बमोजिम उडान नगरेको उनले बताए । उनले तोकिएको स्थानमा टेक अफ र ल्याण्डिङ नगर्दा स्वयं पाइलटलाई मात्र नभई हवाइजहाज र हेलिकोप्टरसँग पनि ठोकिन सक्ने सम्भावना रहेकाले रोक लगाएको बताए ।
उनले ब्लुस्काइ प्याराग्लाइडिङ र फन्टएयर प्याराग्लाइडिङको संचालन अनुमति निलम्बन गरिएको जनाकारी दिए । दुबै कम्पनीकाबाट उडान भरेका पाइलटहरु दुर्घटनामा परेपछि छानविनका लागि निलम्बन गरेको बताए । त्यसै गरि पोखरा महानगरपालिकाले प्याराग्लाइडिङ कम्पनीहरुले पोखरा महानगरपालिकालाई कर नतिरेको भन्दै बुधबारबाट सम्पूर्ण उडानमा रोक लगाउने तयारी गरेको छ ।
प्याराग्लाइडिङ कम्पनीले भने आफूहरु दोहोरो करको मारमा परेको बताउँदै महानगरको कर नतिर्ने बताउदै आएका छन् । प्याराग्लाडिङ दुर्घटनामा परि आइतबार रोमानियाका पाइलट इबि चिसजिर र मंगलबार रसिनय पाइलट डिमिटविल स्टेपनिसिन को मृत्यु भएको हो ।