टिपर चालक मिलेर किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

काभ्रे, चैत ९ ।
काभ्रेको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । किशोरी बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ३ चैत साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने चारमध्ये तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा मण्डन देउपुर–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । अर्का एक किशोर भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दनुवार र राई क्रसर उद्योगका टिपर चालक हुन् भने रामकुमार सहचालक हुन् । नदीमा बालुवा सङ्कलन गर्ने ती किशोरीलाई डाँडखोला नजीक खोलाबाट सो समूहले टिपरमा लिएर गएका थिए । पीडितका परिवारले यही चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जोहरी दर्ता गरेका छन् । जिल्ला प्रहरीको टोलीले जाहेरी दर्ता गरेकै दिन आरोपित तीन जनालाई क्रसर उद्योगबाटै पक्राउ गरेको हो ।