जव पशु भनेर भाइले आफ्नै दिदीमाथी बलात्कार गरे–घरमा बस्न नसकेर भागिन दिदी

काठमाण्डौं, मंसिर १७ ।
खै कसरी घरमा आउँ, आउने जहाज जल्यो आमा
हेर्दा हेर्दै त्यो चित्कारसँगै, सबै दनदन बल्यो आमा

यो यस्ती दिदीले कोरेको गजल हो, जो भाइबाट भयभित भएर रातारात घर छाड्न विवश भइन् । जीवनभरका लागि डरलाग्दो स्वरुप बन्यो भाइ । भाइले दिदी भनेन, सम्बन्धका मर्यादाहरु तोडेर पशु बन्यो । कल्पना गर्नै नसकिने पाशविक चरित्रले आक्रान्त बनिन् दिदी । भाइबाट बलात्कृत भइन् ।

डरविहीन सपनासहित बाँचिरहेको जीवनमा यस्तो पनि होला भन्ने कुनै उपन्यासकारको कल्पनामा पनि नहोला । उनले त कसरी पो सोचेकी थिइन् र ! सोचेकै भए त भाग्न सक्थिन् कि, जोगिन सक्थिन् कि । हुन त पराइसँग भए पो जोगिने, तर्किने कल्पना गर्नु । भाइसँग एउटी दिदी किन पो डराउनु ! तर, नसोचेको, नकल्पेको भयो । भाइ बलात्कारी बन्यो ।

आठ महिना भयो डरको ठूलो भारी दिदीमाथि बज्रिएको । काकाको छोरा, जो उनीभन्दा दुई वर्ष कान्छा थिए । भाइले कामवासनाको घिनलाग्दो स्वरुप देखायो, २२ वर्षकी उनी १९ वर्षका भाइबाट बलात्कृत भइन् ।

प्रहरीले लिएन रिपोर्ट

दैलेखमा ल्याब असिस्टेन्ट पढिरहेकी सुशीला (नाम परिवर्तन) का दिनहरु मेहनतले रंगिरहेका थिए । बिहानबिहान मजदुरी गरेर भए पनि पढिरहेकी उनी पढाइमा राम्रो थिइन् । आठ कक्षा पढ्दादेखि नै घरबाट बिहान ४ बजे निस्किएर दुई घण्टा हिँडेर सदरमुकाम जान्थिन् । सदरमुकाममा बिहानभरी बालुवा चाल्ने, ईंटा बोक्ने काम गर्थिन् । दिउँसो विद्यालय जान्थिन् । त्यसपछि बेलुकी फेरि दुई घण्टा हिँडेर घर ।

कडा मेहनतमा उनले सुन्दर भविश्यको सपना बुनिरहेकी थिइन् । उनको एउटै उद्देश्य थियो, ल्याब असिस्टेन्ट भएर गाउँमा स्वास्थ्य सेवा गर्ने । गाउँलेहरुलाई आफूले जानेका कुराले सहयोग गर्ने ।

तर, भाइबाटै बलात्कृत भएपछि सपना टाढिएको छ । अहिले न्यायका लागि लडिरहेकी छिन् । उनी अँध्यारा दिनहरुमा गुज्रिरहँदा पश्चातापको एक सिन्की दुःख पनि नमानी बलात्कारी भने खुलेआम घुमिरहेको छ ।

बलात्कार भएको कति दिनसम्म त बोल्न सकेकी पनि थिइनन् । पीडाको आक्रान्त स्वरुप आफैंभित्र दबाएर आँसु पिइरहेकी थिइन् । स्थानीय रेडियोमा ‘भन्छिन् आमा’ कार्यक्रम सुनिरहँदा उनमा हिम्मत आयो । आफूमाथिको पीडा आफैसँग राखेर भित्रभित्रै तड्पिन भन्दा न्यायका लागि बोल्नुपर्छ भन्ने लाग्यो । त्यसैले महिला हेल्पलाइनमा फोन गरेर कुरा गरिन् । हिम्मत बढ्यो ।

बलात्कारीविरुद्ध उजुरी गर्न प्रहरी चौकीमा गइन् । मीठो बोलीमा प्रहरीको जवाफ थियो, ‘घरको कुरा रहेछ हजुर । घरमै मिलाउनुस्, यहाँ किन आउनुहुन्छ ? घरपरिवार बिगारेर तपाइँले के पाउनुहुन्छ ?’

न्याय पाइएला भन्ने आश बोकेर प्रहरी कहाँ पुगेकी उनी निराश बनिन् । प्रहरीले उजुरी लिन नपाएको गुनासो गर्दा महिला हेल्पलाइनमार्फत राष्ट्रिय महिला आयोग जाने सुझाव पाइन् ।

दाइले झुक्काएर घर पठाए

घरबाट एक्लै हिँडेकी उनी काठमाडौंमा ठूलोबुबाको छोरा कहाँ पुगिन् । पढेका मान्छे कुरा बुझ्नुहोला भन्ने ठूलो आश उनलाई थियो । सबै कुरा दाइलाई सुनाइन् । आफूलाई कसैले साथ नदिएकाले प्रहरी चौकी लगिदिन बारम्बार आग्रह गरिन् । ‘दाइले काठमाडौंमा मलाई केही सहयोग गर्देलान्, चौकी लग्देलान् भन्ने थियो तर, उनले उल्टै मेरो मोबाइल बिगार्ने, सिम कार्ड लक गर्ने गरिदिएछन्’ उनी भन्छिन् ।

‘आज लगिदिउँला, भोलि लगिदिउँला भन्दै टार्दै गए । मेरो केही काम छैन र तलाइँ चौकी लिएर हिँड्नु भने ।’ एक दिन चौकी जाम भनेर कलंकी लिएर गएछन्, त्यहाँबाट उनलाई थाहा नदिइ दैलेख जाने गाडी चढाइदिए । नागढुंगा पुगेपछि बल्ल उनलाई थाहा भयो दाइले चौकी जान होइन, झुक्काएर दैलेख जाने गाडीमा चढाइदिएछन् । बसको स्टाफलाई दैलेख लगेर झारिदिनु भनेका रहेछन् । ठीकै छ भनेर उनी घर गइन् ।

‘यहाँ हुँदा सबैको फोन आउँछ, मेरो मोबाइलमा किन फोन आएन भनेर बुझ्दा त ब्लक गरेको रहेछ । गुँरासे पुगेर खाना खान बस रोकेको बेला एक जनालाई मोबाइलमा फोन गर्न लगाएँ । उनैले तपाइँको सिम त ब्लक छ भनेपछि बल्ल बुझेँ’ उनले आँखाभरी आँसु पारेर दाइले झुक्काएको दिन सम्झिइन् । भाइलाई केही भन्ला, मेरो लागि केही गरिदेला भनेर आश गरेको दाइले नै झुक्याएपछि अब कसैको आश भएन ।

सुनको सिक्री र पैसाको लोभ

बलात्कारको पीडा आफ्नै ठाउँमा थियो । त्योभन्दा ठूलो पीडा सबै गाउँले मिलेर उनको भावनाको बलात्कार गरे । वडा अध्यक्ष उनकै दाइ पर्छन्, वडा सचिव आफ्नै ठूलाबुबा । सबै आफ्नै भएर पनि कसैले सहयोग गर्न मानेनन् ।

वडा अध्यक्षले त कतिसम्म भने ‘तलाईँ एक तोला सुन दिन्छु चुप लाग’सम्म भन्न भ्याए । लोभ लालच र धम्की त्योबाहेक अरु भाषा बोलेनन् । पीडा सुनिदिन चाहेनन्, न्यायका लागि बोलिदिन चाहेनन् ।

‘मलाई पैसा पनि चाहिँदैन, सुन पनि चाहिँदैन । मैले अहिलेसम्म आफैं दुःख गरेर पढेको छु, अगाडि पनि आफ्नै मेहनतले गर्न सक्छु । मलाई कसैको केही चाहिँदैन’ उनले दृढ भएर भनिदिइन् ।

वडा अध्यक्ष, वडा सचिव उनको घरमा दिउँसो कहिल्यै आउँदैन थिए । राति भएपछि १९र२० जना मान्छे लिएर घरमा आउँथे । फकाउन खोज्थे, पढाइदिने लोभ देखाउँथे, पैसा दिन्छौं भन्थे ।

सकेसम्म फकाउने, नसकेपछि लोभ 

लोभले पनि पगाल्न नसके आउने धम्कीले डर भइरहन्थ्यो । मारी नै पो दिन्छन् कि भनेर हरेक सेकेण्ड उनलाई जीवनको आश लाग्यो । बाँच्ने चाहना पलायो । उनलाई अहिल्यै मर्न मन थिएन ।

उनले सबैलाई भनेकी पनि थिइन्, ‘मलाई धेरै लोभ देखाउन नखोज्नुस् । मलाई केही चाहिँदैन । दिन सक्नुहुन्छ भने न्याय दिनुस् । मलाई जे भए पनि मपछिको बहिनीहरुले यस्तो भोग्न नपरोस् ।’

रातारात घर छाडेर भागिन्

वडाअध्यक्षदेखि गाउँका सबै उनको आवाज दबाउन लागेका थिए । चुप लाग्न दबाव दिइरहेका थिए, धम्क्याइरहेका थिए । ‘पीडामा परेकी छोरीलाई यतिसम्म अमानवीय व्यवहार कसरी गर्न सकेका होलान्’ उनी एक्लै कल्पिएर बाटो खोजिरहिन्थन् । यही अवस्थामा कसरी पढ्ने, कसरी काम गर्ने भन्ने चिन्ता त छँदैथियो । सबैले नै धम्की दिन लागे । तैँले भनिस भने मार्दिन्छम भन्थे । ठूला बुबा, दाइहरुले नै त्यस्तो भनेपछि गाउँमा बस्न सक्ने अवस्था भएन । घर छाडेर भाग्नुको विकल्प थिएन ।

‘घरमा बुबा हुनुहुन्नथ्यो । कामका लागि साउदी अरब जानुभएको थियो । गाउँमा कुरा भएपछि न्यायका लागि बोल्नान् भन्दा त उल्टै मेरैविरुद्ध लागे । धम्की दिए । यसैले रातारात गाउँ छाड्नुको विकल्प भएन’ काठमाडौंमा साथी संस्थाको महिला आवास केन्द्रमा आश्रय लिइरहेकी उनले भनिन् ।

भाउजुले ‘नानी म सहयोग गर्छु तिमीसँग पैसा छैन भने म दिन्छु । तिमी भागेर भए पनि काठमाडौं जाउ’ भनेपछि रातारात उनी घरबाट भागेकी थिइन् । आमालाई पनि थाहा दिइनन् । ‘समाजको डरले आमा पनि समाजकै बोली बोलिरहनु भएको थियो । समाजले हामीलाई अलग्याइदियो भने कहाँ गएर बाँच्ने भन्नुहुन्थ्यो । उहाँलाई अहिलेसम्म पनि समाजकै डर छ’ उनले भनिन् ।

उनी केही पनि नलिई काठमाडौं आइन् । आफूले कविता, गजल लेखेको डायरी देखाउँदै उनी भन्छिन्, ‘यो पनि मैले यहीँ आएर किनेको हो । गाउँमा हुँदा लेखेका कविता, गजलहरु त कता पो पुगे ।’

मान्छे देख्दा डर लाग्छ

उनी काठमाडौं आएपछि पनि धम्की दिन छाडेका छैनन् । घरमा आमालाई धम्की दिन्छन्, आमा रातिमा डराई डराई फोन गरेर छोरीको हालचाल सोध्छिन् र बाँच्नै मुस्किल भएको सुनाउँछिन् । ‘म यहाँ आएपछि पनि घरतिर धम्की दिने भइरहेको छ । आमाले तँ पो त्यहाँ भागेर बाँचिस् यहाँ हामी कसरी ज्यान जोगाउँ भन्नुहुन्छ’ उनले सुनाइन्, ‘समाजले एक्लो गराइदिन्छ, हाडकट्टा गराइदिन्छ भन्ने डर आमालाई अहिलेसम्म पनि छ । एक्लो भएर कसरी बाँच्ने भन्नुहुन्छ ।’

बुबा विदेशबाट फर्किसके । तर, उनले पनि पहुँच भएका गाउँलेका अगाडि केही गर्न सकेका छैनन् । निराश भएर छोरीलाई भन्छन्, ‘जति सक्छौँ तिमी लड छोरी । मैले पनि केही गर्न सकिनँ ।’ सानैदेखि घरबाट टाढाको विद्यालय आउने जाने गर्दा पनि उनलाई केही डर थिएन । मेहनतले दिनहरु रमाइला बनिरहेका थिए । अहिले भने उनलाई डर लाग्छ, सबैभन्दा धेरै मान्छेदेखि नै ।

‘अहिले त एक ठाउँबाट अर्को ठाउँमा जाँदा कहिले पुग्छु होला भन्ने डर भइरहन्छ । मान्छेहरु देख्दा पनि डर लाग्छ । जो मान्छे भेटिए पनि त्यसकै मान्छे हो कि, मलाई केही गर्दिन्छ कि जस्तो डर लाग्छ ।’ ‘जीवनको २२ वर्ष नडराइ हिँडेकी म अहिले डराइ डराइ बाँच्नु परेको छ । यस्तो डर अरुलाई नहोस् भनेर नै न्याय मागिरहेकी छु’ उनले भनिन् ।

न्यायको आश

विश्वव्यापी रुपमा हरेक तीन महिला वा किशोरी तथा बालिका मध्ये एकले जीवनकालमा शारीरिक वा यौनजन्य हिंसा भोग्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक नै छ । उनलाई लाग्छ त्यतिमा कतिले बोल्न सकेका होलान् ?

साथी महिला आवास केन्द्रकी कार्यक्रम संयोजक सपना श्रेष्ठ पीडामा परेकाले आवाज उठाउन सक्ने वातावरण पहिले भन्दा राम्रो भएको अनुभव गर्छिन् । तर पनि पारीवारिक घटनामा त्यो अत्यन्तै कठीन हुने अझै पनि उनलाई लाग्छ । ‘बलात्कारका घटनामा १० वर्ष पहिले जस्तो अवस्था थियो अहिले पनि उस्तै छ । फरक के भने त्यो बेला धेरैजसो घरमा नै घटना मिलाएर राख्न खोज्नुहुन्थ्यो भने अहिले प्रहरीमा रिपोर्ट गर्ने र आवाज उठाउने हुन थालेको छ’ श्रेष्ठ भन्छिन् ।

‘केही नबोली घरमा बसिरहेको भए मेरो ज्यान बच्दैन थियो होला । पक्कै यो संसारमा हुँदैन थिएँ । अब म हार खाँदिन’ सुशीलाले भनिन्, ‘अहिले मेरो पहिलो सोच न्याय नै हो । कानुनले मलाई न्याय दिएपछि केही काम गर्नुपर्छ भनेर जागिर खोजिरहेकी छु । मैले आफ्नै लागि केही गर्नुपर्छ ।’

न्याय पाएँ भने पीडाबाट बाहिर निस्कन सक्छु भन्ने एकीनमा छिन् उनी । यसैले त काम लाग्छ भनेरै कम्प्यूटर तालिम पनि लिइरहेकी छिन् । मनमा केही लाग्दा साथी महिला आवास केन्द्रमै मिसहरुसँग सेयर गर्छिन् । त्यहाँ हुने काउन्सिलिङले पनि उनलाई धेरै सहयोग पुगिरहेको छ । ‘गाउँमा मलाई भन्दा अगाडि पनि धेरै घटना भएका हुन्थे । त्यही पनि मानिसहरु चुप बस्थे । गोप्य राख्थे । उनीहरुले त्यतिबेला बोलिदिएको भए अहिले मलाई यो अवस्था आउने थिएन जस्तो लाग्छ’ उनी भन्छिन् ।

‘पहिले नै त्यस्तो गर्नेलाई चौकीमा लगेर थुनिदिन सकेको भए, उनीहरुले केही सजाय पाएको भए म अन्यायमा पर्ने थिइनँ ।’ उनी दैलेखको स्थानीय एफएममा कार्यकममा बोल्थिन् । गाउँमा उमेर नपुगी हुने बिहे रोक्न आवाज उठाउँथिन् । त्यसले नै उनले बोल्न सकिन । ‘बोल्न नसकेर न्यायबाट टाढा रहेका गाउँमा कति होलान्’ निराश भएर उनले भनिन् ।

कहिलेसम्म डराइरहने ?

पीडामा परेपछि न्याय परपर भइरहे पनि ज्यानकै डर हुँदा भने थप पीडा हुने गरेको छ । बलात्कारपछि पनि न्यायको आश त छँदै छ, बाँच्ने आश बचाइराख्न पनि मुस्किल भइरहेको छ । त्यस्तै छ सुशीलालाई पनि । कुन बेला बलात्कारीका मान्छेले भेटलान् र मारी पो देलान् कि भन्ने डर छ । उनीहरुबाट जोगिन सके न्याय पाउँछु कि भन्ने लागेको छ । शिक्षाले भूमिका खेल्छ त्यो एक हिसाबले सही पनि होला ।

तर, शिक्षित भनिने समाजकै शिक्षित अगुवाले उनलाई, उनकी आमालाई हरेक दिन मारिदिने धम्की दिइरहेका छन् । यहाँ न हजुरआमा भनेर छाडिएको छ, न बालिका भनेर छाडिएको छ, न दिदी बहिनी भनेर छाडिएको छ । न छोरी भनिएको छ । बलात्कारपछिका हत्या जस्ता घटनाले पीडा भोगेर पनि चुप लाग्न विवश हुनुपरेको छ । सुशीलालाई आफूले न्याय नपाए गाउँमा बलात्कारीहरुलाई झनै प्रश्रय मिल्ला कि भन्ने डर छ ।

राजनीतिक, सामाजिक रुपमा हामी परिस्कृत समाजको खोजिमा लागिरहँदा एउटा छोरी छोरी भएकै कारणले पीडा पाएपछि बाँच्छु भन्दा पनि नपाउने ? पीडितलाई न्याय दिलाउनका लागि भन्दा पीडकलाई ढाकछोप गर्न नै सबै लागिपर्ने ? गर्भमा छोरी हुँदा आमाहरु अझै कहिलेसम्म डराइरहने ?–अनलाइनखवर