गोरखाको गण्डकी गाउँपालिकामा राती रक्सी बेच्न नपाईने

गोरखा, भदौ ११ ।
गोरखाको गण्डकी गाउँपालिका–८ मा रातिको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ बेच्न रोक लगाइएको छ । साँझ पाँचदेखि आठ बजेभित्र मात्रै मदिराजन्य पदार्थ बेचबिखन गर्न पाइने निर्णय वडाले गरेको हो ।

वडाको बैठकले मदिरा तथा सूर्तिजन्य पदार्थको विक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न नपाइने निर्णयसमेत गरेको छ । ‘गाउँमा मदिरा सेवन गर्ने अत्याधिक बढ्न थाले,’ वडा अध्यक्ष रामप्रसाद रेग्मीले भने, ‘यसले सामाजिक समस्या निम्त्याउन थाल्यो, फेरि धेरैको स्वास्थ्यमा समस्या पनि देखिन थाल्यो, त्यही भएर यस्तो निर्णय गरेका हौ ।’

मदिरा सेवनकै कारण यो वर्ष पाँच जना युवाको मृत्यु भएको उनले बताए । वडाको बैठकले गरेको उक्त निर्णयहरु भदौ १५ गतेबाट कार्यान्वयनमा ल्याउने वडा अध्यक्ष रेग्मीले जानकारी दिए ।–अनलाईन खवर