गाडी र उडान भदौ १ गतेदेखि पनि नखुल्ने
पोखरा, साउन २६ ।
लकडाउन केहि खुकुलो बनाएपनि अन्तराष्ट्रिय उडान र लामो दुरीको गाडी चलेको छैन । सरकारले भदौ १ गतेदेखि दुवै क्षेत्र खुला गर्ने निर्णय गरेको थियो । तर बढ्दो कोरोना महामारीका कारण अहिले नै हतारमा गाडी र उडान नखोल्न सरकारलाई सुझाव दिईएको छ ।
कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको छ ।
अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न र भारतबाट नेपाल भित्रिने नाकाहरु १० वटा मात्रै खोलिने भएको छ । यसको औपचारिक निर्णय भने आजको मन्त्रीपरिषद् बैठकले गर्ने छ ।